अत्तरिया : झण्डै चालिस वर्ष शिक्षणमा बिताएका श्रीकृष्ण मावि कृष्णपुरका प्राचार्य तथा शिक्षाविद् गोपालदत्त बडू सेवा निबृत्त भएका छन् ।
साठी वर्षे उमेर हदका कारण प्राचार्य बडू शिक्षण सेवाबाट निबृत्त भएका हुन् । आइतबार श्रीकृष्ण माविले आयोजना गरेको विदाई समारोहमा विद्यार्थी, शिक्षक र अभिभावक भावुक बने । कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर –४ का वडाध्यक्ष धर्मसिंहले बडू सर जिल्लाकै उत्कृष्ट एबम् लगनशील शिक्षक भएको बताए । आफू पनि बडु सरको विद्यार्थी भएको चर्चा गर्दे उनले बडू सर जस्ता समर्पित ब्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।
समारोहमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा.टीएन जोशीले गोपालदत्त बडू कर्मठ, मिलनसार तथा संस्थाप्रति समर्पित व्यक्तित्व भएको बताए । श्रीकृष्ण माविको उन्नति र प्रगतिमा प्राचार्य बडूले पुर्याएको महत्वपूर्ण योगदानको उनले उच्च प्रशंसा गरे ।
समारोहमा सेवा निबृत्त प्राचार्य बडूले भावुक हुदै भने– ‘मलाई आज आफ्नै घर छोडेर जानु परेको जस्तो भएको छ ।’ सेवा निबृत्त भए पनि विद्यालयको विकासमा सदैव आफ्नो सहयोग रहने बताउदै प्राचार्य बडू बोल्दा बोल्दै भक्कानिएका थिए ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष गजेन्द्रसिंह धामीको सभापतित्वमा सम्पन्न विदाई समारोहमा नवनियुक्त प्राचार्य चन्द्रदेव जोशी, सहायक प्राचार्य खगेन्द्र प्रसाद ओझा, शिक्षक प्रतिनिधि डिल्लीराज भट्ट, शिक्षकहरू निर्मल ओझा, नन्दराज भट्ट, नर्मदा कलौनी, लगायतले बडूसरको ब्यक्तित्व उदाहरणीय र प्रशंसनीय भएको बताए ।
समारोहमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी, वडाध्यक्ष धर्मबहादुर सिंह, विद्यालयका अध्यक्ष गजेन्द्र धामी, शिक्षक प्रतिनिधि डिल्लीराज भट्ट, नवनियुक्त प्रअ सीडी जोशी, सहायक प्रअ खगेन्द्र ओझा र टेक्सको तर्फबाट डा.निराजन चौधरीले बडू सरलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरे ।

शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको समारोहमा माहोल निकै भावुक र स्तब्ध देखिन्थ्यो । वि सं २०४१ जेठदेखि निरन्तर झण्डै चालिस वर्ष उक्त विद्यालयमा शिक्षक, सहायक प्रअ र प्रअको भूमिकामा रहेका बडू सरले श्रीकृष्ण माविको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
तर, बिडम्बना नै भन्नु पर्छ चालिस वर्ष सेवा पुर्याएका वरिष्ठ शिक्षक गोपालदत्त बडूलाई राज्यको शिक्षाले चिनेन । उनी मावि तृतीय भन्दा माथि जान सकेनन्। सुदूरपश्चिमकै वरिष्ठ विज्ञान प्रशिक्षक समेत रहेका प्राचार्य बडू सरलाई बिदाई समारोह पछि शिक्षक र विद्यार्थीहरूले र्याली र फूलमालासहित बजार परिक्रमा गराउदै उहाँको निवासमै पुर्याउदा पैदल यात्रु भन्दै थिए– आहा! शिक्षकको सम्पत्ति भनेकै यही हो ।’
हुन पनि यत्रो लामो समय पदमा रहदा बडू सरले सकेसम्म कसैको मन दुखाएनन् । बरू मध्यमार्गी बाटो रोजेर सबैलाई मिलाए । विद्यालय व्यबस्थापन समितिले बडू सरको रिटायर पछि बिद्यालयकै सिनियर शिक्षक सीडी जोशीलाई निमित्त प्राचार्यको जिम्मेबारी सुम्पिएको छ ।
