डडेल्धुरा : सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक बर्ष लाग्ने ‘देहीजाँत’ आज लाग्दैछ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका ८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित रहेको छ । किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जन विश्वास छ ।
जाँतमा खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । उग्रतारा माताको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रही आएको छ।
उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरु पूजा आराधना गर्न पुग्ने गर्दछन् । इष्टमित्र, साथीसङ्गी तथा परिवारजनमा भेटघाट तथा दुःख सुख साटासाट गर्ने यस मेलाको आफ्नै महत्व रहेको छ । उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ।