Agni Offset Press

एमालेको मध्यपहाडी लोक मार्ग पदयात्राको तयारी पूरा, केपि ओली धनगढीमा

Aarati simant

अत्तरिया :  नेकपा एमालेले आगामी १४ गतेबाट सुरु गर्न लागेको मध्य पहाडी लोकमार्ग पदयात्राको तयारी पूरा भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली उक्त कार्यक्रमको लागि धनगढी पुगिसकेका छन् । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कैलालीको धनगढीमा हुन् ।
बुधबार उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरू पुग्दै छन् । १४ गतेको कार्यक्रमको लागि एमाले अध्यक्ष सहितका नेताहरू आज बैतडी प्रस्थान गर्ने छन् । बैतडी बस्ने र १४ गते बिहान साढे ८ बजे पदयात्राको उद्घाटन गर्ने तयारी गरिएको छ । अध्यक्ष ओलीले झन्डा अनावरण गरेर पदयात्राको उद्घाटन गर्ने सचिव छविलाल विश्वकर्माले जानकारी दिए ।
झुलाघाटमा उद्घाटनपछि बैतडी सदरमुकाम गोठलापानीको विशाल जनसभामा ओलीले सम्बोधन गर्ने छन् । बैतडीकै खोड्पेमा सन्देश सभा आयोजना गरिने छ । डडेल्धुराको उग्रतारा दर्शन पछि १४ गते उक्त टोली डडेल्धुरामै रहने छ ।
१५ गते डडेल्धुराको अमरगढी किल्ला अवलोकन गर्ने, बागबजारमा सन्देशसभा गर्ने, डोटीको शिलगडीमा जनसभा गर्ने र शैलेश्वरीको दर्शन गर्ने कार्यपालिका रहेको छ । १६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यपालिका रहेको छ । १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष सहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने जनाएको छ । १९ दिनमा सङ्कल्प यात्रा अन्त्य गर्ने जनाइएको छ । पुस ५ गते काठमाडौँमा समग्र सङ्कल्प यात्राको सन्देश प्रवाह गर्ने एमालेले तयारी गरेको छ ।
टोलीले सुदूरपश्चिममा ३५८ किलोमिटर यात्रा गर्ने छ । तीन दिनसम्म विकास र समृद्धिका लागि बहस हुने सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.