काठमाडौँ : प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । मंगलबार दिउँसो सातै प्रदेशका गृहमन्त्री सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा प्रहरी समायोजन सहित प्रदेशको शान्ति सुरक्षाबारे उल्लेख छ । मुलुकमा प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् ।
देशले प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन लागू हुन नसकेको उनीहरूको गुनासो छ । प्रदेश गृहमन्त्रीहरुले आजै साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।
गृहमन्त्री श्रेष्ठलाई भेट्नुअघि प्रधानमन्त्रीलाई भेट्न पुगेका उनीहरुले समयअभाव भन्दै सिंहदरबारमा प्रधानमन्त्रीले भेट नदिएपछि बालुवाटार जान लागेको प्रदेशका एक मन्त्रीले जानकारी दिए ।
सम्बन्धित पाेस्टहरु