बैतडी, १४ मंसिर : नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ भएको छ । यात्राको नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपीशर्मा ओलीले शुभारम्भ गरेको हो ।
अध्यक्ष ओलीले बिहिबार नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेका हुन् । पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलसहितका सबै पदाधिकारी र केन्द्रीयस्तरका अन्य नेताहरू बुधबार साँझ नै सदरमुकाम गोठलापानी आइपुगेका थिए ।
अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा बिहान ८ बजे नेपाली झण्डा झण्डोत्तोलन गरेर शुभारम्भ गरे । त्यसपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, सहीद दशरथचन्द, बलदेब रिचपलेको साकिलमा माल्यर्पण गरे । यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ ।
संकल्प यात्राअघि बुधबार पाटनमा आयोजना गरिएको अभिनन्दन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गरे । बुधबार नै देहिमाण्डौँमा कार्यकर्ता र सुभेच्छुकहरु संग भेटघाट र साँझ निङलाशैनी मन्दिरमा सन्ध्या आरतीमा सहभागी भए । राति नेकपा एमाले बैतडीको पार्टी कार्यालय पनि ओलीले उद्घाटन गरे ।
यात्रा मध्यपहाडी लोकमार्गकेन्द्रित हो । राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले अभियान आयोजना गरिएको एमालेले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु