अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली जिल्लामा निर्माण गरिरहेको यातायात पूर्वाधार विकासका बहुवर्षीय ठेक्कामाथि ठेक्का थपिए पनि योजना वर्षौंदेखि पूरा भएका छैनन् । कैलाली जिल्लामा २०७६\०७७ देखि प्रदेश सरकारले ठेक्का लगाएको सातवटा सडक निर्माण सम्पन्न भएका छैनन् ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लगाइएका ती सडकहरू पाँच वर्ष बित्न लाग्दा पनि अधुरै छन् भने २०७८\०७९ मा बहुवर्षीय ठेक्का लगाइएका १२ वटा योजना पनि अधुरै छन् । कतिपय योजनामा निर्माण कम्पनीले समयमा काम नगर्दा ढिलो हुन पुगेका छन् भने कतिपय योजना सरकारको प्राथमिकतामा नपरेका कारण अलपत्र ढिलो भएको छ ।
निर्माण कम्पनीहरूले ठेक्का हात पार्न लागत अनुमानभन्दा निकै कममा ठेक्का कबुल गर्ने र निर्माण कार्य अगाडि बढाउन कठिन हुने गरेकाले पनि यी योजना वर्षौंसम्म निर्माण सम्पन्न हुन सकिरहेका छैनन् । २०७६\०७७ मा भौतिक पूर्वाधार विकास कार्यालय कैलालीले गोदावरी सडकको कृष्ण मन्दिरदेखि बान्द्रेखालसम्म स्तरोन्नति गर्न बहुवर्षीय ठेक्का लगाएको थियो ।
नौं करोड ३९ लाख रुपैयाँ लागत अनुमानको सो सडक निर्माण गर्न एड्भेन्चर थेगिम सनलाईट जेभीले पाँच करोड ८४ लाख रुपैयाँमा ठेक्का कबोल गरेको थियो । पाँच वर्षको अवधिमा सो कम्पनीले भौतिक प्रगति ४५ प्रतिशतमात्रै गरेको छ भने ४९ प्रतिशत भुक्तानी लिइसकेको छ । त्यस सडकमा सो ठेक्का पुरा नहुँदै सोही कार्यालयले कालोपत्रे गर्नका लागि आर्थिक वर्ष २०७९\०८० मा अर्को ठेक्का लगाएको छ ।
कालोपत्रे गर्न आठ करोड ९९ लाख ९७ हजार रुपैयाँ लागत अनुमान भए पनि तेडी निर्माण सेवा प्रालिले ६ करोड ६१ लाख रुपैयाँमा ठेक्का कबुल गरी सम्झौता गरेको छ । सो कम्पनीले एक वर्षमा २० प्रतिशतमात्रै भौतिक प्रगति गरेको छ भने नौं प्रतिशत भुक्तानी लिएको छ । यसैगरी, २०७६\०७७ मै पूर्वाधार विकास कार्यालय कैलालीले भजनी–सुख्खड सडक स्तरोन्नति गर्न १६ करोड १८ लाख रुपैयाँमा सिएबी जोशी जेभीलाई ठेक्का दिएको छ ।
पाँच वर्षमा सो सडकको ९० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ भने ८४ प्रतिशत भुक्तानी भएको छ । २९ करोड ४५ लाख रुपैयाँको लागत अनुमान गरिएको सडकमा झण्डै आधा रकममा मात्रै ठेक्का कबुल गरेको कम्पनीले नाफा नहुने देखिएपछि निर्माण कार्य निकै सुस्त पारेको छ । सोही सडकमा कार्यालयले कालोपत्रे गर्न २०७८र०७९ मा अर्को ठेक्का लगाएको छ । ३१ करोड ६ लाख रुपैयाँ लागत भएको सो सडकको ठेक्का पिएस रोयल जेभीले २३ करोड ८६ लाख रुपैयाँमा ठेक्का लिएको छ ।
तीन वर्षमा सो कम्पनीले ६० प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ भने ६७ प्रतिशत भुक्तानी लिएको छ । ६ वर्षको अवधिमा कैलालीमा प्रदेश सरकारले लगाएको यातायात पूर्वाधार विकासका बहुवर्षीय ठेक्कामध्ये हालसम्म कुनै पनि ठेक्का पूरा भएको छैन । आर्थिक वर्ष २०७९\०८० मा पनि प्रदेश सरकारले तीनवटा योजना बहुवर्षीय ठेक्कामा लगाएको छ भने चालु आर्थिक वर्ष २०८०\०८१ मा पनि केही योजनालाई बहुवर्षीय ठेक्कामा लैजाने तयारी गरिएको छ ।
प्रदेश सरकारले लगाएका सबै बहुवर्षीय योजना तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको पूर्वाधार विकास कार्यालय कैलालीका लेखा अधिकृत नरबहादुर शाहले बताए । उनले हालसम्म बहुवर्षीय ठेक्का लगाइएको मध्ये प्रतापुर–गुलारा सडक कालोपत्रे योजना मात्रै सम्पन्न हुने चरणमा पुगेको बताए । सो सडकको भौतिक प्रगति शतप्रतिशत भइसकेको बताउँदै अन्तिम बिल पास हुन र हस्तान्तरण हुन मात्रै बाँकी रहेको बताए । २०७६\०७७ मा १४ करोड ८ लाख रुपैयाँ लागत अनुमान भएको सो सडक निर्माणको ठेक्का आठ करोड ८४ लाखमा कबुल गरी ३० महिनाका लागि लिएको रोयल मालिका प्रशंसा जेभीले पाँच वर्षमा सो सडक निर्माण सम्पन्न गर्न लागेको छ ।