सडक निर्माण नभएको भन्दै स्थानीयले गरे बन्द

बैतडी : बैतडीको दुदिलाखान गाँजरी सडक बन्द गरिएको छ। गाउँपालिकाको केन्द्र जर्गेसम्म सडक निर्माण नभएको भन्दै स्थानीयले सडक बन्द गरेका हुन्।

स्थानीय बासिन्दाले गाँजरी–गर्जे सडक संघर्ष समिति बनाएर सोमबारदेखि सडक बन्द गरेका छन्। सिगास गाउँपालिका वडा नं १ र २ का स्थानीयहरूलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न ९÷१० घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेकाले तत्काल सडक निर्माण गर्नु पर्ने स्थानीयले माग गरेका छन्।

सिगास गाउँपालिकाको केन्द्र जोड्नका लागि गाँजरीदेखि कुर्चेनेटासम्म सडक पुगेको छ। तर स्थानीयहरूको विरोधका कारण सडक निर्माण रोकिएको थियो। कोटिला–धौलाडी हुँदै गर्जे जोड्ने सडक कडा चट्टानका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन। स्थानीयले अवरोध गरेपछि गाउँपालिकाले ढुंगाड हुँदै वैकल्पिक सडकमार्फत गाउँपालिकासम्म सडक निर्माण गरेको थियो। गाउँपालिकासम्म सडक नपुग्दा वडा नं. १, २, र ३ का स्थानीयलाई गाउँपालिका केन्द्र पुग्न सास्ती हुने गरेको छ।

यसअघि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई ज्ञापन पत्र बुझाएको संघर्ष समितिले सात दिनभित्र आफ्ना माग पूरा गर्न आग्रह गरेको थियो। आफूहरूका मागका विषयमा कुनै सुनुवाइ नभएकाले सडक बन्द गर्नु परेको संघर्ष समितिले जनाएको छ। ५ दिनसम्म पनि आफूहरूका माग सम्बोधनका लागि प्रक्रिया अगाडि नबढेमा आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने सडक संघर्ष समितिका अध्यक्ष पवन चन्दले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.