सुदूरपश्चिम सरकारबाट मन्त्री फिर्ता बोलाउन लविङ गर्दै माओवादीको टोली बालुवाटारमा

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकार सुस्त भएको भन्दै माओवादी केन्द्र संसदीय दलका बहुमत प्रदेश सभा सदस्यहरूले माओवादी अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारको विषयमा गम्भीर हुन आग्रह गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहित सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका हुन् । भण्डारी, धामी र मालसहित माओवादीका सांसद अक्कल रावल,ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विकसहितले सरकारको काम प्रभावकारी नभएको गुनासो गरे ।
अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीको तर्फबाट २ मन्त्री र १ राज्य मन्त्री छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउद छन् । राज्य मन्त्री गीता माल हुन् । शनिवार दुई मन्त्री र बाँकी २ सांसद बाहेक सबैले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै माओवादीले सरकारको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका थिए ।
उनीहरुले त्यस क्रममा तत्काल दुई मन्त्रीलाई फिर्ता बोलाउनु पर्नेमा जोड दिए । ‘सरकार निकै सुस्त भयो । हाम्रो पार्टीबाट सरकारमा जानु भएकाहरूले पनि धेरै काम गर्न सक्नु भएन’ माओवादीका प्रमुख सचेतक मानबहादुर धामीले भने ‘हाम्रा मन्त्रीलाई फिर्ता बोलाउन र सरकार हेरफेर गर्न हामीले सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई आग्रह गरेका छौँ ।’

सुदूरपश्चिम प्रदेश सभामा माओवादीका सभामुखसहित ११ सांसद छन् । बालुवाटारमै सरकार हेरफेर गर्न ७ जना पुगेपछि प्रधानमन्त्री प्रचण्ड पनि गम्भीर भएका थिए । प्रदेश सभामा बहुमत प्रदेश सभा सदस्यहरुलेनै सरकारमा गएका आफ्ना पार्टीका मन्त्रीहरू सुस्त भएको, सरकारको काम प्रभावकारी नभएको लगाएतका गुनासो आएपछि यस विषयमा ठोस कदम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.