अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा आज बिहिबारदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरुहुँदैछ । बुधबार आयोजक उद्योग वाणीज्य संघ अत्तरियाले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताएको हो । ‘समृद्ध प्रदेशको आधार कृषि पर्यटन र ब्यापार’ भन्ने मुल नाराका साथ अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने महोत्सवको आज दिँउसो १ बजे कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद वीरबहादुर बलायरद्वारा उद्घाटन गरिने भएको आयोजकले जनाएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा ८ औं संस्करण हुन गइरहेको महोत्सव आज विहान ११ बजे देखि विभिन्न संस्कृति झल्कने झाँकी बाजागाजाका साथ अत्तरिया बजार परिक्रमा गरेर उद्घाटन गरिने भएको हो । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले ८ औं संस्करण प्रादेशिक महोत्सव माघ ७ गते सम्म संचालन हुने बताए ।
महोत्सवमा कृषि प्रदर्शनी, थारु गाउँ, स्थानीय परिकार, रमाइलो मेला, स्थानीय कला संस्कृतिको प्रस्तुति र कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताए । उनले महोत्सव अवधि भरी २ लाख दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको बताए । महोत्सवमा १ सय ५० विभिन्न स्टलहरु बुकिङ भइसकेको साथै केही स्टलहरु अझ थप गरिने बताए । उनले महोत्सवको मुख्य प्रवद्र्धक गोदावरी नगरपालिका रहेको र प्रायोजक राष्ट्रिय वाणिज्य बैंक रहेको बताए । महोत्सव लाग्ने स्थान लामितालको परिसर रहेको साथै महोत्सवमा अवलोकन गर्ने समय विहान १० देखि साँझ ५ वजे सम्म रहेको छ भने महोत्सव विद्यार्थी सहूलियत टिकट दर रु ५० र अन्यका लागि रु.१०० रुपैयाँ रहेको छ ।
उद्घाटनको दिन प्रवेश निःशुल्क रहेको छ । महोत्सवको टिकटको जिम्मा अत्तरियाको स्वतन्त्र विद्यार्थी युनियनलाई दिएको छ भने प्रति टिकटको १ रुपैयाँ रेडक्रस ब्लड बैंक लाई दिईने भएको छ । महोत्सव भरी उत्कृष्ट नृत्य गर्नेलाई पुरस्कार प्रदान गरिने भएको छ । महोत्सव अवधिमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थी समुहलाई पुरस्कार दिने आयोेजकले जनाएको छ । महोत्सवमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थीको नृत्य समुहलाई ११ हजार १सय ११ रुपैयाँ पुरस्कार दिइने भएको छ । महोत्सवमा उत्कृष्ट सँगै दोस्रो र तेस्रो हुने विद्यार्थीको नृत्य समुहलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ । जसमा क्रमशः ६ हजार १ सय ११ र ४ हजार १११ रुपैयाँ तोकिएको छ ।
थारू गाउँ प्रदर्शनीको छुटै मञ्च
अत्तरियामा आजदेखि सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा थारू गाउँ प्रदर्शनीको छुटै मञ्च तयार गरिएको छ । महोत्सव भित्रै मिनी महोत्सवको झल्को दिने गरी छुटै मञ्च र स्टल तयार पारिएको छ । सोनारी राप्ती मिडिया प्रालि बाँकेको व्यवस्थापनमा थारू गाउँ प्रदर्शनी आयोजना गरिएको हो । थारू गाउँ प्रदर्शनीका व्यवस्थापक हेमन्त चौधरीले प्रदर्शनीमा १० वटा स्टल, थारू संग्रहालय सँगै मञ्चमा विभिन्न प्रस्तुती देखाइने बताए ।
‘हामीले यो क्षेत्रमा पहिलो पटक थारू गाउँ प्रदर्शनी आयोजना गरेका छौ’ उनले भने ‘प्रदर्शनीमा थारू संस्कृतिको कला संस्कृति प्रदर्शन सँगै अन्य जातीका मानिसहरूलाई पनि थारू समुदाय कला, संस्कृति, खानपानको बारेमा जानकारी दिने छौ ।’ उनले प्रदर्शनी भित्र राखिएको थारू संग्रहालयमा १ सय ५० भन्दा बढी पौराणिक बस्तु संकलन गरेर राखिने बताए । उनले थारू गाउँको प्रदर्शनीमा थारू समुदायका कलाकारहरूको छुटै प्रस्तुती रहने बताए ।
सम्बन्धित पाेस्टहरु