अत्तरिया, १९ माघ : कृषि तथा पशुपञ्छी विमाको बारेमा अझै पनि किसानहरुलाई थाह हुन नसकेको सरोकारवालाले बताएका छन् । शुक्रबार धनगढीमा कृषि ज्ञान केन्द्र कैलालीले गरेको कृषि तथा पशुपञ्छी विमामा पहुँच अभिमुखीकरण लागि पालिका र सरोकारवालासंग भएको अभिमुखीकरण कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रममा बीउ व्यवसायी लक्ष्मीकान्त ढकालले कृषि विमाको बारेमा अझै पनि किसानलाई जानकारी हुन नसकेको बताए । कृषि विमामा राज्यको ठूलो लगानी रहे पनि त्यो अनुसारको प्रचारप्रचार हुन नसकेको उनले बताए । ‘राज्यले ठूलो मात्रामा कृषि विमा लगानी गरेको छ’, उनले भने । ‘सुगम जिल्लामा अभियानकर्ताहरु पुगे पनि दुर्गममा पुग्न सकेको छैन् ।’ कृषि विमाको बारेमा किसान स्पष्ट हुन सकेमा यसतर्फ लाग्ने उनको भनाई रहेको छ । कृषि विमा अभियानलाई प्रभावकारी बनाउन स्थानीय सरकारले सक्रियता देखाउन आवश्यक रहेको उनले सुझाए ।
विमा गर्ने र किलम गर्ने प्रक्रिया नै झन्झटिलो भएको शिखर ईन्सुरेन्स कम्पनीका डिल्लीराज शर्माले बताए । यसलाई सहज बनाउनका लागि सबै लाग्न आवश्यक रहेको उनले बताए । सुदूरपश्चिममा अझै पनि कृषि विमामा आकर्षण नदेखिएको नेपाल विमा प्राधिकरण सुदूरपश्चिमका प्रमुख ह्दयश्वर पण्डितले बताए । सुदूरपश्चिममा १२ प्रतिशत किसान मात्र विमाको पहुँमा पुगेको उनले बताए । विमा भर्नेहरुलाई पहिले जानकार हुन आवश्यक रहेको उनले औल्याए । विमाले कृषि क्षेत्रको प्रबद्र्धन गर्छ भन्ने कुरा स्वंयम विमा गर्नेहरुलाई जानकारी हुन सकेमा मात्र यसप्रति किसानको आकर्षण बढ्ने उनले बताए । बारीमा लगाएका बालीमा जोखिम कम गर्नका लागि कृषि विमा गर्न आवश्यक रहेको उनले बताए । अहिले सम्म सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय १४ जना किसा विमाको पहुँचमा रहेको उनले कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेका छन् । कैलाली र कञ्चनपुरका किसान विमा गर्ने गरेको भए पनि पहाडमा अझै पनि गर्न नसकेको उनले बताए ।
कार्यक्रममा भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख टीकाराम थापाले तीन वटै सरकारको समन्वय र सहकार्यमा किसानलाई विमाको पहुँचमा ल्याउन सकीने बताए । किसानलाई विमाको बारेमा सम्झाउन र बुझाउन आवरश्यक रहेको उनले बताए । विभिन्न विपद्मा किसानले ठूलो क्षति व्यहोर्नु परेको हुँदा त्यसबाट जोगिने एक मात्र उपाय भनेको कृषि विमा गर्नु नै रहेको उनले उल्लेख गरे । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माको अध्यक्षमा भएको कार्यक्रममा अधिकृत भूमिराज उपाध्यायले स्वागत मनत्व्य व्यक्त गरेका हुन् । कार्यक्रमको सञ्चालन ज्ञान केन्द्रका अधिकृत श्यामराज जोशीले गरेका हुन् । कार्यक्रममा कैलालीका विभिन्न विमा कम्पनीका प्रमुख एवं प्रतिनिधि, पालिकाको प्रतिनिधि, बीउ व्यवसायी र किसानहरुको सहभागिता रहेको थियो ।