राष्ट्रिय कराँते प्रतियोगितामा धनगढीका ओली सर्वोत्कृष्ट खेलाडी

अत्तरिया : तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिमका कमल ओली सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सात दोबाटोमा स्थिति कराँते हलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिमका ओली सर्वोत्कृष्ट खेलाडी हुँदै २५ हजार रुपैयाँ प्राप्त गरे । धनगढीको एसपीए कलेजमा अध्ययनरत कमलले यसअघि मलेसियामा भएको पाँचौँ गोजुरियो कराँते विश्व च्याम्पियनसिपमा समेत रजत पदक जितेका थिए ।

एसपीए कलेजले रजत जयन्तीका अवसरमा गत वर्ष कमललाई नगदसहित सम्मान गरेको थियो । प्रतियोगितामा सुदूरपश्चिमका लागि ओलीले एक स्वर्ण जिताए । त्यस्तै लोकेस पार्कीले रजत पदक जित्दा सन्देश पार्की, पुष्पा मडै, अर्जुन थापा र आनन्द कामी ले कांस्य पदक सुदूरपश्चिमलाई दिलाए । प्रतियोगितामा महिलातर्फ रमिता माझी सर्वोत्कृष्ट खेलाडी भइन् । उनले पनि २५ हजार रुपैयाँ पाइन् । पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको थियो ।

प्रतियोगितामा सुदूरपश्चिम बाट एक मात्र स्वर्ण पदक जित्दै सर्वोत्कृष्ट खेलाडी घोषित भएका ओली लाई नेपाल कराँते महासङ्घ का उपाध्यक्ष मकेन्द्र बहादुर सिंहले पनि सम्मान गरेका छन् । कुमुते पुरुष ७५ केजीमा पहिलो स्थान प्राप्त गरेका ओलीलाई उपाध्यक्ष सिंहले १० हजार पुरस्कार प्रदान गरेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.