अत्तरिया : सरकारले लगानीको लागि स्पष्ट नीतिगत व्यवस्था नगरेसम्म लगानी गर्न नसकिने व्यवसायीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सातौं प्रदेश सभाको शुक्रबार धनगढीमा उद्घाटनको क्रममा उनीहरुले यस्तो बताएका हुन । लगानीको वातावरण बनाउन सरकारलाई उनीहरुको आग्रह छ । महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले लगानीको लागि स्पष्ट नीतिको व्यवस्था गर्न सरकारलाई आग्रह गरे । ‘काम गर्ने वातावरण बन्यो भने हामी लगानी गर्न तयार छौं, उनले भने ।
मुलुक युवाविहीन हुने अवस्थामा पुगेको भन्दै उपाध्यक्ष वैद्यले विदेश पलायन रोक्नका लागि मुलुकको शिक्षा नीति र उद्योग नीतिमा परिवर्तन गर्न आवश्यक रहेको औंल्याए । युवालाई स्वरोजगार बनाउन बिना धितो ऋण उपलब्ध गराउन जरुरी रहेको उनको भनाइ थियो ।
यसैगरी, महासंघकै अर्का उपाध्यक्ष हेमराज ढकालले मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै यो अवस्था तत्काल सुध्रिन नसक्ने बताए । उनले भने, यसलाई सुधार्नका लागि बजारलाई चलायमान बनाउन आवश्यक छ । त्यसका लागि सरकारले विशेष पुनर्रोत्थान प्याकेज घोषणा गर्नु पर्दछ । साथसाथै, लगानी सम्मेलन गर्नुपर्दछ ।’
यसैबिच, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार निकाय रहेको उल्लेख गरे । उनले सरकारलाई सफल वा असफल बनाउनमा निजी क्षेत्रको ठुलो भूमिका रहने गरेको उल्लेख गरे ।
प्रदेशमा स्वरोजगारको अवसर सृजना हुनुपर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकार लगानी तथा विकास सम्मेलन गर्ने तयारीमा जुटेको मन्त्रीको भनाइ थियो । देश विदेशको लगानीलाई यो प्रदेशमा कसरी भित्र्याउने भन्ने सवालमा प्रदेश सरकार गम्भीर रहेको उनले उल्लेख गरे ।
सम्बन्धित पाेस्टहरु