अत्तरिया : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले निर्माणाधिन सेती राजमार्ग अन्तरगत पर्ने वनक्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् ।
सोमबार राजमार्गको दक्षिणी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिका–१ को चौतारा (चम्फापुर) क्षेत्रको अनुगमन गरेका हुन् । उनले सडक निर्माणका क्रममा काटिएको काठको अवस्थाको बारेमा बुझेका थिए । अनुगमनका क्रममा सडकछेउमा राखिएका काठहरु सड्न थालेको अवस्थामा भेटिएको उनले बताए । मन्त्री धामीले उक्त काठ समयमै लिलाम विक्रीका लागि सम्बन्धित सरोकारवाला निकायलाई निर्देशनसमेत गरेका छन् । उनले भने ‘मैले यहाँको अवस्था हेरिसके पछि सम्बन्धित कार्यालयलाई समयमै काठ लिलामी गर्ने गरि काम गर्न निर्देशन दिएको छु । अब छिट्टै यो समस्या सामाधान हुन्छ ।’ उनले भने ‘समयमै काठ लिलाम विक्री नहुँदा उपभोक्ताले काठ उपभोग गर्न नपाउने तथा राज्यको राजस्व समेत खेर गइरहेको छ । यसमा सम्बन्धित सबैको ध्यान जान आवश्यक छ ।’
मन्त्री धामीले वनक्षेत्रमा नीतिगत सुधारदेखि काठसम्बन्धीका यस्ता समस्या समाधानका लागि विभिन्न प्रयास गर्दै आएका छ्न । काठ लिलाम बिक्री नहुँदा उपभोक्ताले समेत उपभोग गर्न नपाएको स्थानीयको गुनासो छ । राज्यको सम्पति राज्यले नै प्रयोग गर्न जान्नुपर्ने स्थानीय रवी बस्नेतले बताए । उनले भने ‘यसरी काठ सडेर गइरहेको छ । न त जनताले उपभोग गर्न पाएका छन् । न सरकारले नै राजस्व पाउन सकेको छ । छिटो निकास भएको भए त सरकारले पनि राजस्व गुमाउनु पर्ने थिएन् । जनताले पनि उपभोग गर्न पाउथे होला ।’
जंगलमा लाखौँको काठ सड्र्दै गएको छ । पटक–पटक विभिन्न निकायको अनुगमन भए पनि नत राजमार्ग निर्माण हुन सकेको छ । नत काटिएका काठ्को व्यवस्थापन गरिएको छ ।
सडक परियोजनाबाट काठ हस्तान्तरण गर्न ढिलाई भएका कारण लिलामी प्रकृयामा ढिलाई भएको सब डिभिजन कार्यालय,फल्लेबिसौनाका प्रमुख सुरेश रोकायाले बताए । उनले भने ‘परियोजनाले राष्ट्रिय वन क्षेत्रमा पर्ने काठ सम्बन्धित डिभिजन कार्यालय र सामुदायिक वन क्षेत्रभित्र पर्ने काठ सम्बन्धित सामुदायिक वनलाई हस्तारन्तरण गर्नुपर्ने हुन्छ । त्यो काम ढिलाई भएको कारण काठ लिलाम हुन नसकेको हो ।’यसका लागि प्रकृया अघि बढेको छ ।

केही समय भित्रै हस्तान्तरण हुन्छ होला । त्यसपछि लिलामी प्रकृया अगाडि बढ्छ, उनले भने । सो क्षेत्रको सडकमा झण्डै ४ हजार ५ सय क्वि.फि. काठ हस्तान्तरण हुन बाँकी रहेको उनले बताए । मन्त्री धामीले सोही क्रममा मोहन्याल–१ मा रहेको मोहन्याल माध्यमिक विद्यालयको समेत अनुगमन गरेका थिए । उनले अनुगमनका क्रममा त्यहाँको शैक्षिक, भौतिक अवस्थाबारे विद्यालयका प्रअ, शिक्षक, शिक्षिका, विद्यार्थीसँग जानकारी लिएका थिए ।