सुखड, १६ फागुन : जैविक विविधता संरक्षणसँग घोडाघोडीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेगरी प्रदेश सरकारले काम गर्ने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बताए । जैविक विविधताले महत्वपूर्ण कैलालीको विश्व रामसार क्षेत्र तथा नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडी तालमा बुधबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले चरा अवलोकन गर्दै चरा संरक्षण र पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्ने बताए ।
प्रदेश सरकार पर्यटन क्षेत्रको विकासमा लागिरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले सत्तीमा रहेको शिवमन्दिर, कर्णाली चिसापानी, घोडाघोडीताल, बेहेडबाबा, गोदावरी जस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्रको पर्यटन विकासमा प्रदेश सरकार लागिरहेको बताए । मुख्यमन्त्री शाहले भने, घोडाघोडीको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहले निर्माण गरेको गुरु योजनाको विस्तृत अध्ययन गरौं, घोडाघाोडीको डिपीआर तयार गर्नुस, दुईचार वर्षमा घोडाघोडीको पर्यटन विकासमा कायापलत हुनेगरी हामी लाग्छौं ।’
नेपाल पंक्षी संरक्षण सङ्घको व्यवस्थापन तथा प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई कार्यालय धनगढीको आयोजनामा मुख्यमन्त्री कमलबहादुर शाहलगायत टोलीले चरा अवलोकन घोडाघोडी पुगेका हुन । दुईदिने कैलाली र कञ्चनपुर जिल्लाका प्रमुख सिमसार क्षेत्रहरुमा रैथाने तथा प्रवासी पंछी अवलोकन कार्यक्रम अन्तर्गत बुधबार विश्व रामसार क्षेत्र घोडाघोडी ताल क्षेत्रमा चराहरुको अवलोकन गरे ।
२०७८ साल फागुनमा प्रदेश सरकारले घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेपछि पहिलोपटक मुख्यमन्त्री कमलबहादुर शाहसहितको प्रदेशस्तरीय टोलीले घोडाघोडीमा औपचारिक रुपमा चरा अवलोकन गरेका हुन् । नेपाल पंक्षी संरक्षण सङ्घका फिल्ड म्यानेजर तथा चराविद् हिरुलाल डंगौराले चरा अभय आरण्य क्षेत्र घोडाघोडीको चरा संरक्षणसँगै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने उद्देश्यले चरा अवलोकनको कार्यक्रम राखिएको बताए । उनले बुधबार घोडाघोडी तालको चरा अवलोकनसँगै बिहीबार कञ्चनपुर जिल्लामा रहेको सिमसार क्षेत्रमा चरा अवलोकन गरिने जानकारी दिए ।
घोडाघोडीमा तीन सय ८० प्रजातिका चरा छन् । अहिले पाहुना चरा तथा स्थानीय चराहरुले घोडाघोडी ताल रमणीय बन्नुको साथै चरा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।
सम्बन्धित पाेस्टहरु