अत्तरिया : अत्तरियामा किसान महासंघले बाटोमै दुध खन्याएको छ । महासंघले किसानहरुले भुक्तानी नपाएको भन्दै बिहिबार चक्काजामसहित सडकमा दुध समेत खन्याएको हो ।
धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीले चालु आर्थिक वर्षको असोज १६ गतेदेखि माघ महिनासम्मको रकम भुक्तानी नगरेपछि प्रदर्शनमा उत्रिनुपरेको मोहनराज जोशीले बताए । दुग्ध वितरण आयोजनाले किसानहरुको ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जनाएको छ ।
सात बुँदे माग राख्दै आज प्रदर्शन गरिएको हो । महासंघले किसानहरुलाई भुक्तानी गर्न बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, किसानको दूध खरिद गर्नुपर्ने, दूधको विक्री मूल्य निर्धारण गर्नुपर्ने, सम्पूर्ण कृषि उपजको समर्थन मूल्य घोषणा गरी खरिदको व्यवस्था गर्नुपर्ने, विमित किसानको विमा भुक्तानी गरी भुक्तानी नदिने विमा कम्पनीलाई कारबाही गर्नुपर्ने, सहुलियत कृषि कर्जा प्रभावकारी ढंगले लागु गर्नुपर्ने र उत्पादनमा आधारित कृषि अनुदान व्यवस्था गर्नुपर्ने माग राखेको छ ।