Agni Offset Press

देउडालयमा खेलिने पहाडी समुदायको होरी

Aarati simant

अत्तरिया : असत्यमाथि सत्यको विजय उत्सवका रूपमा मनाइने होली (होरी) पर्व सुदूरपश्चिमका हरेक जिल्लामा पृथक तरिकाले मनाइने गरिन्छ । कैलाली र कञ्चनपुरका रानाथारु समुदायको होली पर्व भिन्न छ भने अन्य पहाडी जिल्लाबाट यहाँ बसाइँसराइ गरी आउनेको होली भिन्न छ । पछिल्लो समय पहाडी जिल्ला अछाम, बाजुरा बैतडी, डोटीबाट तराईमा बसाइँसरी आउनेले पनि आआफ्नो ढङ्गले होली मनाउन थालेका छन् । यहाँ बसोबास गर्ने अछामी समुदायले भिन्न तरिकाले होली मनाउने गरेका छन् भने डडेल्धुराको रुपाली होली भिन्न छ ।
कैलाली र कञ्चनपुरमा अछाम होली, बाजुरेली होली रुपाली होली र दार्चुला बैतडीको होली भिन्न–भिन्न तरिकाले मनाउन थालेका छन् । अछामबाट बसाइँसराइ गरी यहाँ आएकाले आफ्नो संस्कृति संरक्षणका लागि होली पर्व मनाएको होलीका जानकार हंशराज जोशीले बताए ‘हाम्रो अछाममा सेतो जामासहितको लुगा लगाएर रङ नलगाई होली खेल्ने गरिन्छ’, उनले भने, ‘अहिले संस्कृति संरक्षणका लागि बसाइँसरी जो जहाँ छौँ त्यहीँ होली मनाउने गरेका छौँ ।’
त्यसैगरी डडेल्धुराको रुपालबाट बसाइँसरी कञ्चनपुर आएकाले पनि भिन्न तरिकाले होली मनाउने गरेका छन् । दार्चुला र बैतडीबाट कञ्चनपुर बसाइँसरी आएकाको पनि भिन्न होली छ । पाँच दिनसम्म आफन्तको घर–घरमा गएर होली खेल्ने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरेको गणेश धामीले बताए ।
अछाम र बाजुराबाट कैलाली तथा कञ्चनपुरका विभिन्न ठाउँमा बसाइँ सरेका अछामी समुदायहरुले देउडाजस्तै गरी होली पर्व खेल्न सुरु गरेका छन् । अछाम बाजुरामा पूर्णीमाको एक हप्ता अगाडि नै छुट्टै पहिरन लगाएर सामुहिक रुपमा बाजागाजासहित एक ठाउँमा जम्मा भएर होलीका गाथा गायर होली खेल्न सुरु गरिएको छ ।
यसमा पुरुषहरुले खेल खेल्ने र महिलाहरुले जम्मा भएर रमाउने गरेका छन् । होलीका जानका बाजुराका रघुनाथ जोशी सबैले मनाउने होली र आफूहरुले मनाउने होलीमा धेरै फरक रहेको बताउन्छन । अछाम र बाजुराका बढी समुदाय बस्ने कैलालीको अत्तरिया, चौमाला, धनगढी, टिकापुर लगायतका ठाउँमा अछामी र बजुरेली समुदायले परम्परागत खेलिने होली खेल सुरु गरेका छन् ।
४–५ दिनसम्म सबै समुदाय एक ठाउँमा जम्मा भएर होली खेल्छन् । पुख्र्याैली घर बाजुरा भएका कुलबहादुर हमालले भने,’जसरी पहिले पहाडमा होली मनाउथ्यौँ, अहिले कैलाली आएर पनि त्यसरी नै मनाइरहेका छौँ, यो हाम्रा लागि एक महत्वपूर्ण पर्व हो ।’ यो परम्परागत होली सुदूरपश्चिमका अछाम र बाजुरा जिल्लासँगै ती जिल्लाबाट तराई झरेका समुदायले मनाउने गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.