Agni Offset Press

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

Aarati simant

अत्तरिया : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पर्सि बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।

लगतै प्रदेशसभा सचिवालयले बिहीबार ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

साथै विश्वासको मत लिने सूचना दुई दिनअघि नै प्रदेशसभालाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री शाहले सूचना दिएका हुन्, तर उनीसँग अझै बहुमत छैन । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ५ सांसदलाई मन्त्री बनाएका छन् । तर सरकारलाई समर्थन गर्ने\नगर्नेबारे नाउपामा चर्को विवाद छ । सरकारमा नभएका नाउपाका अरु दुई सांसद समर्थन नगर्ने पक्षमा देखिएका छन् ।

नाउपाको समर्थनका बाबजुद शाहलाई बहुमत पुग्दैन । उनले एक सांसद भएको राप्रपा र स्वतन्त्र सांसद तारा जोशीलाई मन्त्री बनाउने प्रयास गरेका थिए । तर राप्रपाले समर्थनको निर्णय नगरेपछि जोशी पनि रोकिएका छन् । एकीकृत समाजवादीका पूर्व नेता समेत रहेका जोशीलाई एमाले–माओवादी गठबन्धनले पनि फकाइरहेको छ । गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पनि नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.