अत्तरिया : सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टलाई बहुमत सदस्यले जिम्मेवारीबाट मुक्त गरेपछि पार्टी भित्र किचलो छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका ११ जना प्रदेश सभा सदस्य छन् । माओवादी पार्टीका प्रदेश सभा सदस्य भीम भण्डारी सभामुख छन् । सभामुख भण्डारी समेतको संलग्नतामा प्रदेश सभामा किचलो शुरुवात भएको हो ।
छ जना प्रदेश सभा सदस्यको बैठकले भट्टलाई संसदीय दलको नेता हटायो । र, मानबहादुर धामी सन्तोषलाई दलको नेता बनायो यो उथल पुथलबाट क्रुद्ध भएका भट्टले केन्द्रीय समितिको बैठक र सामाजिक सञ्जालमा पार्टी नेतृत्व प्रति आक्रोश व्यक्त गरे । र, त्यसयता उनी पार्टीका सबै बैठक बहिस्कार गर्दै आएका छन् ।
हालै धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश सभाको सचिवालयको बैठकमा झण्डै ५० प्रतिशत प्रतिनिधि उपस्थित नै भएनन । यो बैठकले माओवादी पार्टी भित्र अर्को उथल पुथल ग¥यो । जनादर्न शर्मा समूहले यो सचिवालयको बैठक बहिस्कार ग¥यो । बिधि, पद्धति र प्रणाली मिचेर निकटताका आधारमा अध्यक्ष प्रचण्डले आफ्नी बुहारी बिना मगरलाई सह ईञ्चार्ज नियुक्त गरेको शर्मा समूहले आरोप लगाउदै आएको छ ।
खगराज भट्ट र उनी निकट सचिवालय सदस्यहरुले भने संसदीय दलको नेता फेर्ने निर्णयको बिरोधमा सचिवालयको बैठक बहिस्कार गरे । माओवादीको प्रदेश कमिटिमा ४४६ जना सदस्य छन् । सचिवालयमा १३३ जना सदस्य छन् । सचिवालयको बैठकमा भने ४२ प्रतिशत मात्र उपस्थित भएको शर्मा समूहका नेताहरुको दावी छ । बैठकमा सहभागी नहुनेहरुलाई कारबाही गर्ने चेतावनीका बाबजुद पनि शर्मा समूह र भट्ट समूह बैठकमा सहभागी भएनन ।
बैठकमा सुदूरपश्चिमका सिनियर नेता हरी ज्ञवाली, बिरमान चौधरी, आरपी तिमिल्सेना, नरेन्द्र कुँवर, रेणु चन्द, रुपा चौधरी, भरत धानुक, मञ्जु बम, टीएम स्वाँर, दीपक साँउद, बिमला सिंह, नेप बहादुर चौधरी, हेमराज भट्टराई, भगत बडुवाल सहभागी भएनन । लाल बहादुर सोडारी उपस्थित भए, हस्ताक्षर गरेनन ।
कञ्चनपुरबाट टेकेन्द्र भट्ट, लोकेन्द्र लम्साल, माया नेगी, मानबहादुर सुनार सहभागी भएनन । डडेल्धुराबाट खगराज भट्ट, मञ्जु बम, भरत धानुकले बैठक बहिस्कार गरे ।
बैतडीबाट केन्द्रीय समिति सदस्य रहेका चार जना मध्ये रेणु चन्द, नरेन्द्र कुवँर र भुवन बिक बैठकमा सहभागी भएनन । बझाङकी शान्ती नेपालीले पनि बैठक बहिस्कार गरिन । बाजुराबाट आठ जना सचिवालय सदस्य रहेकोमा बिनिता बिक मात्र उपस्थित भईन । दार्चुलाका संयोजक पदम सिंह धामी जमन सिंह धामी, उमेश भट्ट पनि बैठकमा सहभागी भएनन ।
नौ वटा जिल्ला संयोजकहरु मध्ये छ जिल्लाका संयोजक बैठकमा अनुपस्थित रहे । डोटी, बझाङ र कञ्चनपुरको संयोजक मात्र बैठकमा सहभागी भएको स्रोतले बतायो । बैठक बहिस्कार गर्ने मध्यका एक केन्द्रीय सदस्य बिरमान चौधरीले पार्टीमा योगदान पुर्याउनेहरुको मूल्यांकन नभएको र पार्टी बिधि बिपरित चलेको आरोप लगाए ।
गलत गर्नेलाई कारबाही भएन । उल्टै पुरस्कृत भए । सिष्टम अनुसार निर्णय हँुदा बिना मगर सहईञ्चार्ज हुदैनथिन, चौधरीले भने, हामीले कुनै व्यक्ति वा पात्रको बिरोध गरेका गरेका भने होईनौ । पार्टी प्रणालीमा चल्नुपर्छ भन्ने हाम्रो माग हो । माओवादीकोले पाँच वर्ष प्रदेश सरकार चलाएर एउटा पनि प्रतिनिधि सभा सदस्य नजित्ने यही सुदूरपश्चिम होईन, उनले भने, पार्टी कमजोरी भईरहने, अनि सब छ ठिक भन्ने हुदैन । हामीले यही कुरामा नेतृत्वको ध्यानाकर्षण गरेका हौ ।
उनले जनार्दन समूहले बैठक बहिस्कार गरेको भन्ने कुरामा सत्यता नभएको बताए । सबै बिचार समूहका सदस्यहरुले बैठक बहिस्कार गरेको चौधरीले बताए । तर बैठकमा सहभागी सुदूर पश्चिम प्रदेश सभा सदस्य तथा सचिवालय सदस्य ओम बिक्रम भाटले कुनै व्यक्ति बिशेष समूहले बैठक बहिस्कार गरेको बताए । केही साथीहरु बैठकमा आउनु नभएको सत्य हो, उनले भने, बाहिर हल्ला गरे जस्तो सबैले बहिस्कार गरेका होईनन ।
माओवादी भित्रको चरम गुटबन्दीका कारण सुदूरपश्चिममा माओवादीले प्रदेश सरकारको नेतृत्वको दावी नै गरेन । स्रोतले भन्यो, एक समूहले अर्को समूहलाई स्वीकार गर्ने अवस्था नभएका कारण कसैले पनि मुख्यमन्त्रीमा दावी गर्न सकेनन ।
सम्बन्धित पाेस्टहरु