धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज पोखरामा अवतरण

अत्तरिया : धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको २२२ जहाज पोखरा अवतरण भएको छ । शुक्रबार बिहान १० बजे धनगढीबाट उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि डाइभर्ट गरेर पोखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।

धनगढीबाट बिहान ९ः१५ बजे उड्ने भनिएको जहाज १० बजे उडेको थियो । सामान्य प्राविधिक समस्या देखिएकाले पोखरा डाइभर्ट गर्नुपरेको जानकारी गराइएको यात्रु खडकबहादुर विष्टले जानकारी दिए । श्री एयरलाइन्सको पोखरा इन्चार्ज नवदीप केसीका अनुसार इन्डिकेटरमा समस्या देखिएका कारण काठमाडौं उडेको जहाजलाई डाइभर्ट गरी पोखरा अवतरण गरिएको हो । इन्जिनियरद्वारा प्राविधिक चेकजाँच भइसकेको र काठमाडौं उडान भर्न धनगढीबाट आएका यात्रुले नमानेको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका पोखरा इन्चार्ज केसीले प्राविधिक जाँच गरी सोही जहाजमा यात्रु काठमाडौं उड्न नमानेको र पोखराका यात्रु लिएर काठमाडौं उडिसकेको जानकारी दिए । एक साताअघि पनि धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सकै जहाज भैरहवामा आपतकालीन अवतरण भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.