गोदावरी नगरमा अपाङ्ग भएका व्यक्तिलाई सहायक सामग्री वितरण

अत्तरिया, २६ चैत : कैलालीको गोदावरी नगरपालिका वडा नं १ मा अपाङ्ग भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । सोमबार ‘अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन अवसर चाहिन्छ’ भन्ने धारणाका साथ गोदावरीको अपाङ्ग एकता समाज कैलालीले कार्यक्रमको आयोजना गरी सामग्री वितरण गरिएको थियो । उक्त सहायक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । अपाङ्ग व्यक्तिहरूलाई नगर प्रमुख भट्टले वितरण गरेका हुन् ।
अपाङ्गता भएका ५ जना ब्यक्तिहरुलाई १ वटा सेतो छडी, ३ वटा कम्बोव्हील चेयर, १ वटा बैसाखी सामग्री वितरण गरिएको थियो । कार्यक्रममा नगर प्रमुख भट्टले वडा नं १ ले वास्तवमै अशक्त ब्यक्तिहरुको पीडालाई बुझेर आवश्यक सामाग्री सहयोग एकदमै राम्रो कार्य गरेको बताए । ‘नगरमा रहेका असक्त ब्यक्तिहरु धेरै रहेका छन’, उनले भने । ‘असक्त भएका व्यक्तिहरूलाई पटक–पटक सहयोग गर्दै आइरहेको छ ।’
उनले आगामी दिनमा नगर भित्र असक्त भएका ब्यक्तिहरुको सहजताका लागी अभियानको रुपमा लैजाने साथै नगरको १२ वटै वडाहरुमा असक्त व्यक्तिहरूलाई जसले हिँडडुल गर्न सक्दैन, जसका लागी व्हीलचियर जस्ता सहायक सामग्रीहरुको के कति आवश्यक छ यसलाई पहिचान गरेर आगामी बजेटमा छुट्याएर सम्पूर्ण वडाहरुमा थप सहजताका लागी वितरण गर्ने प्रतिबद्धता गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.