अत्तरिया : नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम पक्षका सांसद्हरूले सुदूरपश्चिम प्रदेश सभाका सभामुखको ध्यानाकर्षण गराएका छन्।
नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले कारबाही गरेकी समानुपातिक सांसद इन्दिरा गिरीको कारबाही सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि मंगलबार कार्यकक्षमै गएर उहीहरूले सभामुखको ध्यानाकर्षण गराएका हुन्। संसदीय प्रणालीअनुसार प्रदेशसभा सदस्यलाई संसदीय दलले मात्र कारबाही गर्न पाउने भए पनि सभामुख भण्डारीले पार्टीको सिफारिसका आधारमा कारबाही सदर गरेकोले लिखित रूपमा ध्यानाकर्षण गराइएको नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले बताए।
उनले संसदीय दलले कुनै पनि सांसदलाई कारबाही नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराइएको बताए। नाउपासँगै सभामुखलाई भेटेका कांग्रेसका प्रमुख सचेतक विक्रम धामीले पनि संसदीय अभ्यासअनुसार अघि बढ्न सभामुख भण्डारीलाई सुझाव दिइएको बताए। पार्टीले गरेको सिफारिसका आधारमा सांसदलाई कारवाही गर्न थाल्यो भने अन्य दलका सांसदसमेत नरहने अवस्था आउने भएकाले सभामुखको ध्यानाकर्षण गराइएको उनको भनाइ थियो।
यता, सभामुख भण्डारीले भने समानुपातिक सांसद हटाउने थप्ने काम पार्टी केन्द्रीय समितिको रहेकाले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले केन्द्रीय समितिको निर्णयसहित इन्दिरा गिरीलाई हटाएको पत्र पठाएकाले त्यहीअनुसार कार्यान्वयन गरेको बताएका छन्।