ट्याक्टरले किच्दा घटनास्थलमै एकको मृत्यु

बैतडी, ९ बैशाख : बैतडीमा ट्याक्टरले किच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्रप्रसाद भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
डिलाशैनी गाउँपालिका–१ ब्रमबाट सिमारतर्फ गइरहेको सुपप्र ०१००२ त ४६८६ नम्बरको ट्याक्टरले डिलाशैनी–१ को वडा कार्यालय नजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा आइतबार दिउँसो २ बजे भट्टलाई ट्याक्टरले किचेको हो ।
उक्त ट्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासी खसेका र ट्याक्टरको पछाडिको टायरले किचेको थियो । टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए । घटनालगत्तै सिमार प्रहरीचौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली गएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.