बैतडी : मानव र वन्यजन्तु (चितुवा) बिच द्वन्द्व बढेपछि नरभक्षी चितुवा र बँदेलको गतिविधि नियाल्न ग्वाल्लेक संरक्षित वन क्षेत्रमा ५० वटा स्वचालित क्यामरा जडान गरिएको छ । तल्लोस्वराड क्षेत्रको मेलौली, शिवनाथ र पञ्चेश्वरमा २८ जना चितुवाको आक्रमणबाट मरिसकेका छन् ।
चितुवा र जङ्गली बँदेलको आक्रमणमा परेर २० जनाभन्दा बढी घाइते भएका छन् । मानवले थापेको पासोमा परेर १२ वटा चितुवाको पनि मृत्यु भएको छ । मानव र वन्यजन्तुबिच द्वन्द्वबढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ग्वाल्लेक, मेलौली नगरपालिका–३, सलेना, तिताबै र महारुद्र क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको क्यामरा ट्र्यापर सुमन मल्लले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण तथा वन्य जन्तु र मावनबिचको सहअस्तित्व कायम गर्न विज्ञटोलीसहित उनी बैतडी आइपुगेका हुन । पहिलो चरणमा मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकासम्म चितुवाको अध्ययन गरिने बताइएको छ ।