धनगढी उपमहानगर नगरप्रमुख शैक्षिक सुधार कोषमा १३ लाख ९९ हजार

अत्तरिया : विपन्न बालबालिकाहरुको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरेको छ । कोषमा हालसम्म झण्डै १४ लाख जम्मा भएको छ । आर्थिक अभावका कारण विद्यालय पोसाक, शैक्षिक सामग्री लगायतका सामान जोहो गर्न समस्या भएका विपन्न परिवारका बालबालिकाहरुको पठनपाठनमा सघाउन नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो ।

उपमहानगरपालिकाका अनुसार कोषमा हालसम्म विभिन्न संघसंस्थाबाट १३ लाख ९९ हजार रुपैयाँ जम्मा भइसकेको छ । उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय छनौट गरेर नमुना विद्यालय बनाउने अभियान अघि बढाएको छ । त्यस्ता विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बीचैमा पढाई छोड्न नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको उपमहानगरपालिकाको भनाई छ ।

धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न हरसम्भव प्रयास गरिने बताए । नगरप्रमुख हमालले उपमहानगरले मात्र शिक्षामा लगाउन नसक्ने भएकोले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न आफूले सक्ने जति नगरप्रमुख शैक्षिक सुधार कोषमा सहयोग गर्न आग्रह गरेका छन् ।

नगरप्रमुख शैक्षिक सुधार कोषमा हालसम्म काठमाडौंको एलआरआई स्कुलका संस्थापक शिवराज पन्तले पाँच लाख, हिमालयन बैंक, धनगढी शाखाले एक लाख ९९ हजार ५००, माछापुच्छ्रे बैंक, धनगढी शाखाले चार लाख ९७ हजार, प्रभु बैंक, धनगढी शाखाले ५२ हजार ५०० र महालक्ष्मी विकास बैंक धनगढी शाखाले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.