अत्तरिया बजार सरसफाई गर्न व्यावसायीलाई विद्यार्थीको पत्र

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुले अत्तरिया बजार सरसफाईमा व्यवस्थापन गर्न पत्र वितरण गरेका छन् ।
विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ‘मेरो नगर म आफै सफा गर्छु’ ‘सुन्दर नगर–हाम्रो कल्पना, तपाइको साथ–हाम्रो चाहना’ भन्ने नाराका साथ अत्तरिया बजारका व्यवसायीहरुलाई शनिबार सरसफाई सम्बन्धी ६ बुँदे पालन उल्लेख भएको पत्र वितरण गरेका हुन् ।
शनिबार सरसफाई व्यवस्थापन अभियानमा विद्यालयमा अध्यनरत कक्षा ७ र ९ कक्षाका विद्यार्थीहरु सहभागी भई वितरण गरेका थिए । सरसफाई व्यवस्थापन अभियानमा सहभागी विद्यार्थीहरुले सरसफाई व्यवस्थापन पालना गर्नुपर्ने सम्बन्धी लेखिएको अत्तरिया बजारका व्यवसायीहरुलाई पत्र वितरण गरे सँगै पत्रमा ‘हामी दुर्गालक्ष्मी माध्यमिक विद्यालय अत्तरिया, कैलालीका विद्यार्थी हौं । हामी तपाईहरु सित केही सहयोग माग्न आएका छौं । आशा छ हामी तपाईहरुबाट पूर्णसाथ र सहयोग प्राप्त गर्नेछौं । यो अत्तरिया नगर देश भरि चिनिने नगर हो । यो नगर सुदूरपश्चिम प्रदेशको मुख्यद्वारका रुपमा चिनिने भएकोले र प्रदेशकी राजधानी भनेर चिनिने भएकाले पनि यो प्रसिद्ध छ । अत्तः यसलाई स्वच्छ, सफा र हराभरा राख्नु तपाई हामी सबैको दायित्व हो ।
त्यसैले तपाई हामी मिलेर यसो गरौं । हामी हाम्रो नगर सधै सफा राख्न प्रतिबद्ध बनौं । आफ्नो घरआँगनको फोहरमैला आफै सफा गरौं । फोहोरमैलालाई बर्गीकरण गरेर व्यवस्थापन गरौं, सार्वजनिक फोहरमैला सामुहिक रुपले व्यवस्थापन गरौं, यो नगर मेरो हो भन्ने धारणा राखौं, आ–आफ्नो घर पसलको फोहर सुरक्षित राखौं भनेर लेखिएको उल्लेख गरेको थियो ।
पत्रमा विद्यार्थीहरुले अत्तरिया बजारका व्यवसायीहरुबाट सरसफाई व्यवस्थापन गर्ने समर्थन सँगै हस्ताक्षेर समेत गराएका थिए । अभियानमा गोदावरी नगरपालिका नगरप्रमुख वीरेन्द्र भट्टले समेत विद्यार्थीहरुले गरेको अभियानमा समर्थन जनाए सँगै बढेको पत्रमा हस्ताक्षर गरेका थिए ।
अभियानमा नगरप्रमुख विरेन्द्र भट्टले विद्यार्थीहरुको पत्रमा हस्ताक्षर गर्दै बजारमा प्लाष्टिक जन्य फोहोर नगर्न नगरपालिकाले अभियान नै थालेको बताए । ‘हामीले सुरुदेखि नै क्लिन गोदावरी र ग्रिन गोदावरीको नामाकरण दिएर काम थालेका छौ, प्लाष्टिकजन्य वस्तुका कारण बजार फोहोर देखिन थालेकाले प्लाष्टिक बन्द गर्ने पनि हामीले निर्णय गर्यौ’ उनले भने ‘विभिन्न कारणले त्यसमा कडाईका साथ जान सकेको अवस्था थिएन, केही दिनयता नगरपालिकाले अनुगमन गर्दै जादा यसलाई बन्द गर्ने कुरामा अगाडि बढेका छौ, अनुगमनको पाटो पनि अगाडि बढेको छ ।’
उनले दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले चालेको कदम एकदमै राम्रो भएको र यसमा नगरको साथ र सहयोग सदैव रहने बताए । उनले राम्रो सन्देश र सिकाई दिने किसीमको अभियान विद्यालयले सञ्चालन गरेको बताए । ‘सफाई गरेको कारण ले मात्रै नभई फोहोर नगरेको कारणले विकसीत देशहरु बढी सफा र स्वच्छ देखिने गर्दछन’ उनले भने ‘सफाई गर्ने मात्रै नभई फोहोर नै नगर्ने परिपाटीको विकास गर्नका लागि दुर्गालक्ष्मीले गरेको जस्ता कार्यक्रमहरु आयोजना हुन जरुरी छ ।’
उनले नगरले यस्ता विषयवस्तुहरुका बारेमा जानकारी गराईसकेको भएपनि जानाजान फोहोर गर्ने काम केही तत्वहरुले गर्दै आएको बताए । ‘अहिले हामीले प्राईभेट सेक्टरलाई सरसफाईको जिम्मेवारी दिएका छौ, उनिहरुले अभिमुखीकरण गर्ने र आफैले पैसा उठाउने काम गर्दै आएका छन’ नगरप्रमुख भट्टले भने ‘दिनभरीको पसलको फोहोर पसलमा राख्ने दोस्रो दिन बिहान आउने गाडीमा राख्ने भन्ने गरेको भएपनि यहाँ केही व्यवसायी साथीहरुले एकदिनमात्रै पनि पसलमा नराखेर बाहिर फाल्दिने र सकेसम्म आफैले फोटो खिचेर यस्तो अवस्था छ भनेर सामाजिक सञ्जालमा हाल्ने गरेको पनि देखियो ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.