अत्तरिया : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सच्चिएको दिन प्रदेश सरकारमा सहभागी हुने बताएका छन् । नेकपा एमाले प्रदेश संसदीय दलले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘माधव नेपालले जुन दिन खुट्टा उचाल्न छोड्छन् । त्यसै दिन प्रदेश सरकारमा हाम्रो सहभागिता हुन्छ । सरकारमा बस्ने खुट्टा उचालिराख्ने प्रवृतिका कारण सरकारमा सहभागी हुन नसकिएको हो । सरकारलाई समर्थन त दिएकै छौँ ।’ ‘खुट्टा उचालेर गडबड भएको छ । सच्चिने भनेका छन् । सच्चिन्छन् होला’ उनले भने । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सरकारले ल्याएको आगामी आवको नीति तथा कार्यक्रम जनपक्षिय भएको बताएका छन् । उनले भने ‘विगतका वर्षमा मुख्यमन्त्री केन्द्रित भएर नीति तथा कार्यक्रम आउने गरेको थियो । यसपटक जनतामा समर्पित भएर आएको छ ।’ विगतका वर्षभन्दा यसपटको नीति तथा कार्यक्रम केही प्रगतिशील भएको उहाँको भनाइ छ । बजेट पनि नीति तथा कार्यक्रमकै जगमा उभिएर आउने उनले बताए ।