अत्तरिया : हिन्दु परम्पराअनुसार १३ दिनमा सकिनुपर्ने काजकिरिया अत्तरियाका एक वामपन्थी नेताले ७ दिनमै सम्पन्न गरेका छन् । कैलालीको गोदावरी नगरपालिका १ बनखेतमा बसोबास भएका राष्ट्रिय जनमोर्चाका केन्द्रीय परिषद् सदस्य तथा सुदूरपश्चिम उपाध्यक्ष हरिकृष्ण पाण्डेले आफ्नो काकाको काज किरिया ७ दिनमा सामान्य किसिमबाट सम्पन्न गरेका हुन् ।
१६ गते (बुधबार) निधन भएका उनका काकाको मंगलबार ७ दिने काज किरिया सामान्य एवं प्रगतिशील तरिकाले श्रद्धाञ्जली सभा राखेर सम्पन्न भएको थियो । वामपन्थी नेता पाण्डेले न कपाल काटे, न किरियाका लागी अलग्गै बसे, न सेता लुगा, न त कुनै पिण्डको व्यवस्था । उनी सधैँ लगाइरहने पहिरनमा बसे । काजकिरिया समापनका दिन मंगलबार उनले आफ्नै घरमा आफन्तजन र नेताहरूलाई बोलाएर श्रद्धाञ्जली सभामा एक औपचारिक कार्यक्रम आयोजना गरी काज किरिया सम्पन्न गरे ।
उनले काकाको मात्रै हैन केही समय अगाडि स्वर्गवास भएकी आफ्नी आमाको समेत यस्तै काज किरिया सामान्य एवं प्रगतिशील तरिकाले सम्पन्न गरेको बताए । उनले आफूले यसरी सामान्य एवं प्रगतिशील तरिकाले कार्यहरू गरिरहँदा समाजमा रहेका केही छिमेकी र आफन्तहरू पनि भेट्न नआएको गुनासो गरे । वामपन्थी नेता पाण्डेले काजकिरियामा लाग्ने खर्च गोदावरी नगरपालिका–२ मा रहेको अपाङ्गता बालबालिका अध्ययनरत सुप समावेशी आधारभूत विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
काकाको मंगलबार ७ दिने काजकिरिया श्रद्धाञ्जली सभा राखेर सम्पन्न भएको कार्यक्रम मार्फत छात्रवृत्ति कोषका लागि ५० हजारको चेक विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउँदलाई हस्तान्तरण गरेका छन् । पाण्डेका काका पनि अशक्त भएका कारण अपाङ्गता बालबालिका अध्ययनरत विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गरी सहयोग गरिएको बताइएको छ । खानेपानीमा आबद्ध पाण्डेकी श्रीमती कुन्ती पाण्डेले पनि तालिम लगायतका विभिन्न कार्यक्रमहरूबाट पाएको भत्ता स्कुललाई सहयोग गरेकी छन् ।
त्यस्तै वामपन्थी नेता हरिकृष्ण पाण्डे र कुन्ती पाण्डेले यस अघि आफ्ना छोरा छोरीको बिहे पनि एउटा औपचारिक कार्यक्रमको आयोजना गरि सामान्य एवं प्रगतिशील तरिकाले बिहे गरेका थिए । छोराको बिहेमा नेता पाण्डेयले त्यति बेला पनि विवाहको खर्च सुप माविको लागी छात्रवृत्ति कोषको स्थापना गर्ने गरी ५० हजार चेक हस्तान्तरण गरेका थिए । वामपन्थी नेता हरिकृष्ण पाण्डे र कुन्ती पाण्डेको पनि यसरी नै प्रगतिशील बिहे भएको थियो । वामपन्थी नेता पाण्डेका ससुरा डोटीका पुराना कम्युनिस्ट नेता डिल्लीराज भट्ट हाल गण्डकी प्रदेशका प्रदेश प्रमुख छन् ।
सम्बन्धित पाेस्टहरु