अत्तरिया : कैलालीमा ४१ हजारभन्दा बढी बालबालिकालाई पोलियोबिरुद्धको ‘आइपिभी’ खोप लगाइएको छ । जिल्लामा यही जेठ १३ गतेदेखि २६ गतेसम्म अभियानकारुपमा सञ्चालित खोप कार्यक्रममा ४१ हजार एक सय नौ बालबालिकालाई खोप लगाइएको हो ।
खोप अभियानमा जिल्लाका १३ वटै स्थानीय तहका ४५ हजार नौ सय नौ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकामा लक्ष्यको ९० प्रतिशत बालबालिकालाई ‘आइपिभी’ खोप लगाइएको प्रारम्भिक तथ्याङ्क रहेको स्वास्थ्य कार्यालय कैलालीका खोप निरीक्षक प्रदीप जोशीले जानकारी दिए ।
खोप निरीक्षक जोशीका अनुसार मोहन्याल गाउँपालिकामा एक हजार चार सय ५१,चुरे गाउँपालिकामा एक हजार एक सय २२,गोदावरी नगरपालिकामा तीन हजार पाँच सय ३४,गौरीगंगा नगरपालिकामा तीन हजार सात सय ४४ र घोडाघोडी नगरपालिकामा चार हजार सात सय २२ बालबालिकालाई खोप लगाइएको छ । बर्दगोरिया गाउँपालिकामा दुई हजार तीन सय ८१,लम्कीचुहा नगरपालिकामा चार हजार १५,जानकी गाउँपालिकामा दुई चार सय आठ,जोशीपुर गाउँपालिकामा एक हजार तीन सय ४३ र टीकापुर नगरपालिकामा तीन हजार आठ सय २३ जनालाई खोप लगाइएको उनले जानकारी दिए ।
त्यस्तै, भजनी नगरपालिकामा एक हजार आठ सय ६६,कैलारी गाउँपालिकामा एक हजार छ सय २० र धनगढी उपमहानगरपालिकामा आठ हजार छ सय ८४ बालबालिकालाई खोप लगाइएको खोप निरीक्षक जोशीले बताए । ‘खोप केन्द्र विद्यालयहरुमा थिए । अभियानको अवधीमा जिल्लामा बढेको अत्यधिक गर्मीका कारण केही स्थानीय तहका विद्यालयहरु एक हप्ता नै बन्द भए’, उनले भने,– जसका कारण अभियानको समयावधि भित्र खोप लक्ष्यमा पुग्न नसकेको हो ।’
उनले भने,–‘बिदाका कारण खोप रोकिएका धनगढी उपमहानगरपालिका,गोदावरी नगरपालिका र टीकापुर नगरपालिकामा यही जेठ २७ गतेबाट पुनः खोप कार्यक्रम सुरु भएको छ । त्यहाँ यो महिनाको अन्तिमसम्म खोप कार्यक्रम चल्छ । हाम्रो खोप प्रगति लक्ष्यभन्दा बढी नै पुग्छ ।’ खोप अभियान कार्यक्रममा जिल्लाभरी आठ सय ६६ स्वास्थ्यकर्मी र करिब एक हजार सात सय ३२ स्वयंसेवक परिचालित भएको उनको भनाइ छ । विसं। २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई लक्षित गरि ‘आइपिभी’ खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।