धनगढी : विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ ।
यस वर्ष ‘रक्तदान उत्सवको दुई दशक सबै रक्तदाताहरूलाई धन्यवाद भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइको छ । कैलालीमा पनि विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।
दिवसकै अवसर पारेर धनगढी जेसिज र वाल्मीकि इन्टरनेशनल स्कुलले धनगढीमा रक्तदानको कार्यक्रम आयोजना गरेका छन् । धनगढी जेसिजले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रदेशमै सबैभन्दा धेरै १०५ पटक रक्तदान गरेको भन्दै स्वयंसेवी रक्तदाता तथा नेपाली हेडलाईनका सह–सम्पादक दीपक उपाध्यायलाई सम्मानित गरेको छ ।
त्यस्तै दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीले रक्तदान गर्ने विभिन्न संघसंस्थाहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।
सम्बन्धित पाेस्टहरु