कोशी प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन अनुरोध

अत्तरिया : हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एकरदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका एकरदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका एकरदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा कोशी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । विभागले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.