अत्तरिया : कैलाली र कञ्चनपुरमा सिकलसेल रोगबाट प्रभावित बिरामीको संख्या बढ्दै जान थालेको छ । थारु समुदायमा जनचेतना अभाव, गरिबी, तथा सर्वसुलभ स्वास्थ्य सेवा नहुँदा सिकलसेल एनिमिया रोगीको संख्या बढ्दै गएको हो ।
सेती प्रादेशिक अस्पतालद्वारा बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा आदिवासी जनजातिमा सिकलसेल एनिमिया रोगका लक्षण धेरै देखिने गरेको जानकारी दिइएको हो । सेती प्रादेशिक अस्पतालका सिकलसेल एनिमियाका फोकल पर्सन गौरी जोशीले दिएको जानकारी अनुसार कैलाली छ सय ६५ र कञ्चनपुरमा दुई सय ६४ गरी नौं सय ४९ जनाले उपचार गराई रहेका छन् ।
सरकारले सिकलसेलको परीक्षण र उपचार निःशुल्क गरेपनि छुट्टै उपचार कक्षको व्यवस्था नहुँदा समस्या भइरहेको उनले बताए । सिकलसेल एनिमिया (रक्तअल्पता) पश्चिम नेपालमा देखिएको जटिल रोग भएकोले यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय, प्रदेश सरकार तथा सरोकारवाला निकायको भूमिका महत्पूर्ण हुने सेती प्रादेशिक अस्पतालका डा. प्रदिप मिश्रले बताए । विशेषगरी यो रोग थारू जातिमा बंशाणुत रुपमा देखा पर्दै आएको उनले बताए । नेपालको तराई क्षेत्रका बाँके, दाङ, बर्दिया, कैलाली थारू जातिको बसोबास धेरै भएका जिल्ला हुन् ।
‘सरकारले नीतिगत रूपमा सिकलसेल रोगीको उपचार गर्ने व्यवस्था गरेको बताउँदै सेती प्रादेशिक अस्पतालमा मेडकलसुपरीडेन्डेन्ड डा. शेरबहादुर कमरले परीक्षण र उपचार दुवै निःशुल्क रहेको बताए । उनले सरकारले एउटा बिरामीलाई एक लाख बराबरको औषधि दिँदै आएको बताए । कैलालीका विभिन्न थारू बस्तीमा सिकलसेल एनिमिया प्रभावितको संख्या दिनानुदिन बढ्दै गएको पाइएको उनले बताए ।
परीक्षण र उपचार निःशुल्क भए पनि ग्रामीण स्तरमा पुगेर रोगका बारेमा परीक्षण र जनचेतना भने जगाउन आवश्यक रहेको डा. कमरको भनाइ छ । स्थानीयस्तरमा काम गरिरहेका स्वास्थ्यकर्मी, सिकलसेल एनिमियाका बारेमा जनचेतनाको अभाव भएको जनाइएको छ । सिकलसेल तराईमा गम्भीर रोगका रूपमा देखिएको छ । ‘स्थानीय सरकारले आफ्नो क्षेत्रमा हरेक नागरिकको परीक्षण गर्नुपर्ने हो’ उनले भने । ‘दुर्गम क्षेत्रका थारू बस्तीका अधिकांश बासिन्दा निम्न आयस्तरका छन् ।’ डा. कमरले भने । ‘सिकलसेल बुबालाई भएमा सन्तानलाई नसर्न सक्छ । तर, आमा र बुबा दुवैमा भएमा सन्तान पनि सर्ने गरेको छ ।’ एक÷दुई जना पहाडी समुदायमा पनि सिकलसेल देखा परेको उनको भनाई रहेको छ । सिकलसेल बिरामीको आयो ४०÷४१ बर्ष हुने गरेको डा. कमरले बताए । सिकलसेलका बिरामीहरुको अपेक्षा अनुसारको सेवा दिन नसकेको उनले बताए । सिकलसेलका बिरामीका लागि राज्यले छुट्टै सुविधायुक्त अस्पाताल सञ्चालन गर्न आवश्यक रहेको डा. कमरको भनाई रहेको छ ।
परीक्षणका लागि एक हजार शुल्क लाग्ने गरेकाले धेरै बिरामीको निःशुल्क परीक्षण सुविधा दिन सके रोग पत्ता लाग्ने उनी बताउँछन् । वंशाणुगत रूपमा सर्ने सिकलसेल भएका व्यक्तिमा शरीर, हाडजोर्नी दुख्ने, कमलपित्त, रक्तअल्पता, रिंगटा लाग्ने, कमजोर हुने लगायतका समस्या देखिने गरेको जनाइएको छ । सिकलसेल भएका दम्पत्तिबाट जन्मेका बच्चामा समेत यो रोग देखिने गरेको छ ।
सिकलसेल एक प्रकारको बंशाणुगत रोग हो । यो रोग बुबा र आमाबाट बच्चामा पुग्ने गर्दछ । मानव शरीरमा भएका ३ किसिमको रक्तकोषिका मध्ये रातो रक्तकोष लचकद्वार गोलो र तलमाथि थिचिइको हुन्छ । साना–साना रक्तनलीबाट सजिलै बगेर जान सक्छ । रातो रक्तकोषमा हुने हेमोग्लोबिनमा बंशाणुगत रुपमा जीनमा खरावी हुँदा रातो रक्तकोष हसिया आकारको बन्छ । त्यसले गर्दा सजिलै साना–साना रगत नलिमा बग्न सक्दैन । अनि चाडै टुक्रिने र रक्तनलीका हागाहरुमा अड्किने हुन्छ । रक्त संचारमा अवरोध आउने हुँदा शरीरका विभिन्न भाग तथा अंगहरुमा अक्सिनको राम्रो संग संचार हुन सक्दैन् । जसले गर्दा प्रमुख रुपमा रगतमा हेमोग्लोबिनको मात्रा कम हुन्छ । यो नै सिकलसेल एनिमिया हो । यो दुई प्रकारको हुन्छ । सिकलसेल एनिमिया र सिकल सेल ट्रट ।
सम्बन्धित पाेस्टहरु