Agni Offset Press

पर्यटकको पहिलो रोजाईमा गोदावरी जीर्ण काठेपुल

Aarati simant

अत्तरिया : प्रयोगविहीन अवस्थाको कैलालीको एक पुरानो पुल आम्दानी गर्ने थलो बनेको छ । गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा रहेको काठेपुललाई अचेल ‘भाइरल पुल’ भनेर चिनिन थालेको छ । यसको पहिचान बदलिएसँगै यो पुल आम्दानी गर्ने थलो बनेको हो । पुरानो काठेपुलनजिकै सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पक्की पुल बनेपछि विगत केही वर्षदेखि भाइरल पुल सवारीसाधन ओहोरदोहोरका लागि प्रयोगमा छैन ।
अचेल यो पुल घुमफिर गर्न गोदावरी पुगेकाका लागि भने रमाउने पर्यटकीय स्थल बनेको छ । त्यहाँ पुगेकाहरू पुलमा घुमफिर गर्नुका साथै विभिन्न जातजातिको मौलिक पहिरन लगाएर फोटो खिचाउने, भिडियो बनाउने गरेका छन् । कैलालीको गोदावरी क्षेत्र घुम्न आन्तरिकसहित भारतीय पर्यटक पुग्ने गरेका छन् ।

घुमफिरका लागि गोदावरी पुगेकाले मौलिक पोसाक भाडामा लिएर फोटो खिचाउँदा स्थानीयवासीलाई गजबको आम्दानी भइरहेको छ । भाडामा पोसाक दिएर चाडपर्व वा सार्वजनिक बिदाको दिनमा दैनिक २० देखि २५ हजार रुपियाँसम्म कमाएको व्यवसायी जानकी ठकुन्नाले बताइन। उनले भभनिन, पहिले भाडामा ड्रेस दिने दुई वटा मात्रै पसल हुँदा दिनभरिमा अन्य व्यापारभन्दा यसबाट राम्रो कमाइ हुने गर्दथ्यो । अहिले यस्ता पसल चार वटा भएपछि पहिलेको तुलनामा आम्दानी केही घटेको छ । ठकुन्नाले हाल दैनिक दुईरअढाई हजारदेखि लिएर सात हजारसम्म आम्दानी भइरहेको बताइन। स्थानीय पसलेले क्षेत्री, मगर, थारू, तामाङ, नेवारका मौलिक पहिरन भाडामा उपलब्ध गराउने गरेका छन् । आधा घण्टाका लागि लुगा लगाएबापतको शुल्क एक सय, एक घण्टाका लागि दुई सय रुपियाँमा भाडामा दिने गरेको जनाइएको छ ।

घुमफिर गर्नेले विभिन्न जातिको मौलिक पहिरन लगाएर फोटो, भिडियो खिचाउने गरेका छन् । हाल गोदावरी पुल वरिपरि २६ जना फोटोग्राफरले काम पाइरहेका छन् । उनीहरूले एक सय रुपियाँमा पाँच वटा फोटो खिचेर तत्कालै मोबाइलमा पठाउने गरेका छन् । यसरी फोटो खिचेर दैनिक राम्रै कमाइ भइरहेको फोटोग्राफर नितिन भट्टराईले बताए । उनले भने, एउटै पुलमा हामी २६ जना फोटोग्राफरले काम पाएका छौं । यो नै खुसीका कुरा हो ।

गोदावरीको भाइरल पुल जीर्ण अवस्थामा छ । गत वर्ष त्यसको एकातिर कमजोर भएपछि केही समय त्यसमा घुमफिर गर्न रोक लगाइएको थियो । भाइरल पुल पर्यटकीय स्थल बनिसकेकाले यसको संरक्षण स्थानीय सरकारसहित सरोकारवालाले गर्नुपर्ने व्यवसायी ठकुन्नाको भनाइ छ । पछिल्लो समय गोदावरीमा पर्यटक आकर्षण गर्ने संरचना थपिँदै गएका छन् । गोदावरी जिपलाइन सञ्चालनमा आएपछि दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । थप आकर्षणका लागि भाइरल पुलमाथि अब छाता राख्ने योजना रहेको स्थानीय व्यवसायीले बताएका छन् ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.