प्रथम प्रादेशिक कविता महोत्सव : नीतिका अवस्थी बनिन् ‘टपर’

धनगढी : सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा धनगढीमा प्रथम प्रादेशिक कविता महोत्सव सम्पन्न भएको छ । कविता महोत्सवमा सुदूरपश्चिमका नौ बटै जिल्लाका ३२ जना कवि तथा कवियत्री फाइनल प्रतियोगितामा सहभागी थिए ।
प्रतियोगिताका लागि पठाइएका एक सय पचपन्न कवितामध्ये फाइनलका लागि ३२ कविता छनौटमा परेका थिए । सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले प्रतिष्ठानको स्थापनासंगै यसको उद्देश्यप्राप्तिका लागि आफू निरन्तर लागिरहेको बताए । छोटै समयमा थुप्रै उल्लेखनीय कार्य भएको बताउदै उनले प्रथम प्रादेशिक कविता महोत्सवले सुदूरपश्चिमका कविहरूमा सकारात्मक तरङ्ग आएको बताए । उनले सुपको प्राज्ञिक र अनुसन्धानमूलक कार्यका लागि पनि एकेडेमी लागिरहेको बताए ।
प्रादेशिक कविता महोत्सवको शनिबार एक समारोहबीच सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री तथा संस्कृतिविद् राजेन्द्रसिंह रावलले उदघाटन गरेका हुन् । प्रादेशिक कविता महोत्सवमा नीतिका अवस्थी प्रथम, तुलसी भट्ट द्वितीय र सत्या उपाध्याय तृतीय स्थान हात पार्न सफल भए । उनीहरूलाई जनही २५ हजार, २० हजार र १५ हजार पुरस्कारबाट सम्मानित गरियो । यसैगरि सान्त्वना स्थान प्राप्त गर्ने बालाराम उपाध्याय र मनिषा उपाध्यायले पाँच पाँच हजार जित्न सफल भए ।
बिजयी कविहरूलाई प्रमुख अतिथि रावल र उपकुलपति डा. जोशीले नगदसहित प्रमाणपत्र प्रदान गरे । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीको सभापतित्वमा सम्पन्न समारोहमा बर्दियाकी चर्चित कवियत्री तथा निर्णायक मण्डलकी सदस्य निरञ्जना चन्द निरूले आफ्नो कवितासहित मन्तव्य राख्दा समारोह नव प्रतिभाहरूलाई तरङ्गीत पारेको थियो । कवियत्री चन्दले कवितामा हुनुपर्ने तत्वबारे प्रकाश पार्दे सुदूरपश्चिमका कविता सुन्दा आफू गौरवान्वित भएको बताइन् ।
महोत्सवमा सुदूरपश्चिमका बरिष्ठ कवि मनिराज जोशी, रामचन्द्र नेपाल, दिनानाथ बराल, चन्द्रसिंह भट्टराई, वीरबहादूर चन्द, जगदिश ओझा, तीर्थराज जोशी, तीर्थ गड्सेरी, स्नेहा जोशी, सविता खड्का, डिलबहादुर महरा, केशबनाथ योगी, खिमानन्द बडू, आशिका वली,नीलगगन रोशन सिंह लगायतका कविताले माहोल झनै उत्साहित बन्यो । त्यस्तै अछामी रेखा र कोपिला सिंह ठकुरीको लोकनृत्यले कार्यक्रम थप रोचक बन्यो ।
कविता महोत्सवमा सहप्राथ्यापक गणेशराज जोशी, जगन्नाथ जोशी,निरञ्जना चन्द निरू, पदमप्रकाश साउद र वासुदेव बिष्ट निर्णायकको भूमिकामा थिए । सुदूरपश्चिम खेलकूद परिषदका सदस्य सचिब दीपकबहादुर सिंह, पूर्व मन्त्री चन्द्रसिंह भट्टराई विशिष्ट अतिथि थिए ।
झन्डै तीन सयको सहभागिता रहेको कविता महोत्सवको सञ्चालन राष्ट्रिय उद्घोषक केपी कलौनीले र सांकृतिक ब्यबस्थापन सुरज शाहले गरेका थिए । समारोहमा सहभागी तथा बिशिष्ट योगदान पुर्याउने ब्यक्तित्वहरूलाई सम्मानित समेत गरिएको थियो ।
समारोहमा स्टेपिङ स्टोन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत बालकवि सुनिल बुढाको ‘सहर जाने बाटो’ खण्डकाव्य विमोचन गरिएको थियो । उक्त खण्डकाव्य सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठाले प्रकाशित गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.