अत्तरिया : कैलालीका विभिन्न ठाउँबाट प्रहरीले पाँच लाख ५० हजार मूल्यबराबरका भन्सार छलेर ल्याइएका सामान बरामद गरेको छ। भारतबाट भन्सार छलेर ल्याइएका कपडा, खाद्य पदार्थ, चप्पल, प्रेसर कुकर, रबर, प्लास्टिक र किराना पसलका सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
धनगढी उपमहानगरपालिकाको चौराहा, पुरानो भन्सार रोड, बसपार्क, सहिद गेट, जुगेडा, गोदावरी नगरपालिकाको रिङरोड र टीकापुर नगरपालिकाको बालुटारबाट भन्सार छलेर ल्याएर बेवारिसे अवस्थामा रहेका ती सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए। बरामद सामान कैलाली भन्सार कार्यालयलाई बुझाइएको उनले बताए।