
अछाम : अछाम पञ्चदेवल विनायक नगरपालिका ६ तोलीकी एक किशोरीले बालविवाह गरेकी छन् । छाउ भएका बेला छाउगोठमा बस्दै आएकी १५ वर्षकी किशारीले बालविवाह गरेको हुन् । शुक्रवार राति छाउ भएका बेला गोठबाटै भागेर बालविवाह गरेको वडा अध्यक्ष कमल रावलले बताए ।
वालविवाह गरेको खबर पाउना साथ प्रहरीलाई खबर गरेको उनले बताए । अहिले प्रहरीले दुबैलाई पक्राउ गरेको वडा अध्यक्ष रावलले बताए । उनले भने, ‘छाउगोठले धेरै कुरामा असर पारेको छ । ति किशोरीले छाउगोठबाटै कमलबजार नगरपालिका– ६ वीरपथ बिहे गरेर गएको रहेछिन् । छाउगोठले धेरै समस्या निम्त्याएको छ । कुप्रथाका र वालविवाह विरुद्ध जनचेतनामूलक कार्यक्रमहरू निरन्तर चलिरहनुपर्छ ।’ वडामा गोठ भत्काउने अभियान सञ्चालन गरेको वडाध्यक्ष कमल रावलले जानकारी दिए । वडामा करिब २५÷३० छाउगोठ रहेको अनुमान गरिएको र शुक्रबार मात्र १६ वटा छाउगोठ भत्काएको रावलले बताए । पञ्चदेवल विनायक नगरपालिकाकी एक १६ वर्षीया किशोरी मामा नाता पर्नेबाट छाउगोठमै बलात्कृत भइन् । असार ३ गते भएको उक्त घटनापछि जिल्लामा छाउगोठ भत्काउने अभियान पुनः सुरु भएको छ । किशोरी बलात्कार भएको घटना सार्वजनिक भएकै दिन भत्काइएको छ । पाँच वर्ष भत्काइएको छाउगोठ फेरि बनेका छन् । घरै बस्न थालेका किशोरी तथा महिलाहरूले फेरि छाउगोठमै फर्कन थालेका छन् ।
