कैलालीमा ४० प्रतिशत खेतमा रोपाइँ

अत्तरिया : कैलालीमा ४० प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ । कुल ६५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकोमा अहिलेसम्म ४० प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको हो । यस वर्ष खडेरीका कारण ६० प्रतिशत धानखेतमा रोपाइँ हुन बाँकी छ । सिँचाइ सुविधा नभएका क्षेत्रमा किसानले रोपाइँ गर्न पाएका छैनन् । असार १५ तथा राष्ट्रिय धान दिवस मनाई रहँदा किसानले कैलालीका विभिन्न स्थानीय तहमा बोरिङकै भरमा धान रोपेका छन् ।
समयमा रोपाइँ सुरु नहुँदा उत्पादनमा कमी आउने विज्ञहरुको तर्क छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख हरिप्रसाद पनेरुले धानको उत्पादन घट्न सक्ने बताए । उनले भने, ‘उत्पादनमा असर गर्छ । २५ दिनको बेर्ना रोप्ने हो । बेर्ना बढेपछि उत्पादनमा कमी आउछ । २÷४ दिनभित्र पानी परेन भने झर्ने समस्या हुन्छ ।’ कैलालीमा ६५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
जिल्ला समन्वय समिति कैलालीका प्रमुख खगराज भुसालले धान दिवसलाई उत्पादनसँग जोडेर लैजानुपर्ने बताउन्छन । कृषि ज्ञान केन्द्र कैलालीले धान दिवसको अवसरमा भएको कार्यक्रममा उनले भने ‘हामीले कृृषिलाई प्रविधीमैत्री बनाउँदै उत्पादन बढाउनमा ध्यान दिनुपर्ने बेला आएको छ ।’ उनले कृषि कार्यकै लागि विदेश जान लाइनमा बस्ने प्रवृति रहेको उल्लेख गर्दै उनले सबैलाई आफ्नै देशमा कृषि कार्यमा लाग्न आग्रह गरे ।
उनले कृषिमा उत्पादन बढाउनका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । युवा पुस्ताले कृषि पेसालाई सम्मानित पेसाका रुपमा लिन पनि उनले आग्रह गरे ।
कैलालीमा ५२ प्रतिशत खेतमा मात्र सिँचाइ सुविधा पुगेको छ । बाँकी क्षेत्रका किसानले आकाशको पानीले रोपाइँ गर्दै आएका छन् । यो वर्ष वर्षात नभएकाले किसानले रोपाइ गर्न पाएका छैनन् । कैलालीमा मध्य असारसम्म ४० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइ भएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख हरिप्रसाद पनेरुले बताए ।
कैलालीमा असार १५ सम्म ८० प्रतिशत खेतमा रोपाइ हुने गरेको थियो । तर, यो वर्ष खडेरीका कारण पानीको हाहाकार भएको छ । जिल्लाका ४८ प्रतिशत किसान आकाशे पानीको भरमा छन् । बेर्ना राखेको २५ दिनमा रोप्नुपर्ने हुन्छ । तर, अधिकांश किसानले समयमा रोपाइँ गर्न नपाएपछि धान उत्पादनमा कमि आउने हिमालय ग्रुपका प्रबन्धक लोकेश भट्टले बताए । उनले चक्ला बन्दीमा काम गर्न आवश्यक रहेको बताए । उनले भने, ‘यो कृषि क्षेत्रको विकासका लागि चक्ला बन्दीबाट कृषि गर्न आवश्यक छ । जमिन खण्डीकरण हुँदैछ । बिउ राम्रो बनाउनुपर्छ । बिउ राम्रो भए, उत्पादन पनि राम्रो हुन्छ ।’
कैलालीमा एक हप्तासम्म पानी नपरे किसानको ठुलो क्षति हुने चिन्ता समेत गरिएको छ । कैलालीमा राष्ट्रिय गौरवको सिँचाइ आयोजना रानी–जमरा–कुलरीया सञ्चालनमा छ । महाकाली सिँचाइ आयोजनाको पानी कैलालीसम्म पुगेको छैन । कर्णालीको पानी पश्चिमी क्षेत्रमा पुगेको छैन । मोहना सिँचाइ आयोजनाको काम पनि अलपत्र छ । कृषि ज्ञान केन्द्र, कैलालीका प्रमुख पनेरुले सिँचाइ कार्यालयले नहरको काम गर्दै आएको बताए । कैलालीको खेतीयोग्य जमिनमा अझै पनि सिँचाई सुविधा पुग्न सकेको छैन् । कृषि ज्ञान केन्द्रका प्रमुख पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, धनगढी उपमहानगरपालिका–११ का वडाअध्यक्ष रुपबहादुर कुँवर, वडा नं. ६ का वडाअध्यक्ष भागीराम चौधरी लगायतको उपस्थिति रहेको थियो । यस्तै, किसानको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.