Agni Offset Press

सुदूरपश्चिम प्रदेशमा फेरि काँग्रेसको नेतृत्वमा सरकार बन्दै

Aarati simant

अत्तरिया : केन्द्रमा सत्ता समीकरणमा उथलपुथल भएसँगै प्रदेश राजनीति पनि तरंगित भएको छ। केन्द्रमा नेकपा माओवादी केन्द्रसहितलाई छोडेर एमालेले नेपाली काँग्रेससँग समीकरण निर्माण गरेसँगै प्रदेशको राजनीति र सरकारको समीकरण पनि प्रभावित बनेको हो।

हाल सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीको नेतृत्वमा नेकपा माओवादी केन्द्र, एमाले र नाउपाका २ मन्त्रीसहितको सरकार छ। तर केन्द्रमा भएको नयाँ समीकरणमा सुदूरपश्चिम प्रदेशको नेतृत्व पनि फेरबदल गर्ने सहमति गरिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भएको सोही सहमतिअनुसार सुदूरपश्चिम नेपाली काँग्रेसको भागमा परेको हो। त्यसमा एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। उता मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो।

सुदूरपश्चिममा नेपाली काँग्रेसले नेतृत्व पाउँदा एमालेसहितको सरकार बन्ने छ। त्यसो हुँदा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह फेरि मुख्यमन्त्री बन्ने छन्। तत्कालीन समयमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्रीबाट अपदस्थ भएपछि शाह मुख्यमन्त्री बनेका थिए। शाह २०७९ माघ २७ गते मुख्यमन्त्री चयन भएका थिए।

तर पछि उनले संसदीय अंक गणीत अनुसारको आवश्यक समर्थन कायम राख्न नसकेपछि विश्वासको मत नलिई राजीनामा दिएका थिए। त्यसपछि समाजवादीका सोडारी मुख्यमन्त्री बनेका थिए। यहाँ ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ। त्यसमा कांग्रेसका १८ सांसद छन् भने नयाँ गठबन्धनमा रहेको नेकपा एमालेका ११ प्रदेश सभा सदस्य छन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.