अत्तरिया : बजेट पास नहुँदै मुख्यमन्त्री दीर्घ सोडारीको नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढल्ने भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुबीच भएको सहमती अनुसार केन्द्रदेखि प्रदेशका सरकारहरु ढल्ने भएका हुन् ।
केन्द्रमा भएको सहमती अनुसार सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ । प्रदेश सरकार बनाउन २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा काँग्रेसका १८ र एमालेका ११ सांसद छन् । यो संख्या नै सरकार बनाउन पर्याप्त छ । त्यसमाथि नागरिक उन्मुक्ति पार्टी र राप्रपाले पनि समर्थन गर्ने देखिन्छ ।
नयाँ सरकार गठनका लागि मंगलवार नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह र नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलबीच छलफल भएको थियो । एमालेको समर्थनमा बनेको सोडारीको नेतृत्वको सरकार केन्द्रमा गठबन्धन फेरिएसंगै अल्पमतमा परिसकेको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि मंगलवार दुई दलका संसदीय दलका नेताबीच छलफल भएको थियो ।
एमालेले औपचारिक रुपमा समर्थन फिर्ता लिए सोडारीको सरकार ढल्नेछ । सोडारीको नेतृत्वको सरकारले बिचौलियासंग कमिसन लिएर बजेट बनाएको आरोप छ । यसअघि नै बजेटका बिपक्षमा उभिएको काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाएपछि बजेट पास नगर्ने जनाईसकेको छ ।