काठमाण्डौँ, १९ असार : दिएको समयसीमाभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिएको छ ।
एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको र औपचारिक रूपमा केहीबेरमा प्रधानमन्त्रीलाई जानकारी गराउने संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘हामीले प्रधानमन्त्रीज्यूलाई मार्ग प्रशस्त गर्न आजसम्मको समय दिएका थियौँ । तर हाम्रो आह्वानअनुरुप उहाँबाट त्यो भएन,’ बर्तौलाले भने, ‘अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र नेपाली कांग्रेसको समर्थन एवं सहभागितामा नयाँ राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको छ ।’
एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए । उनले एमालेका मन्त्रीहरुको एक एक गरेर राजीनामा बुझे । एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् । एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत गाए, यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले ।’
प्रधानमन्त्री प्रचण्डले यो राजीनामा आफूले भोलि स्वीकृत गर्ने बताएका एक मन्त्रीले जानकारी दिए । मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको समय दिएको थियो । प्रधानमन्त्रीको सम्मानजनक बहिर्गमनका लागि यो समय दिएको तर उनले त्यसको सम्मान नगरेको एमालेको ठहर छ ।