अत्तरिया, २१ असार : नेकपा एसको १० औं महाधिवेशनबाट गठन भएको केन्द्रीय कमिटीबाट प्रेम आलेको हटाइएको छ । महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुँदा प्रेम आले अटाएका छैनन् ।
आलेले महाधिवेशन बहिस्कार गरेका थिए । डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका आले पार्टीको १० औं महाधिवेशनमा सहभागी भएनन् । नेकपा एसले आज ९३ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेको छ । पार्टीले थप छलफल गरेर आगामी दस दिनभित्र २९९ सदस्यीय कमिटी घोषणा गर्ने जनाएको छ ।
निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्युरोमा रहेकाहरूलाई केन्द्रीय सदस्यमा राखे पनि निवर्तमान पोलिटब्युरो सदस्य आलेको नाम भने राखिएको छैन । आलले भने करिब ८ महिनादेखि आफू पार्टीमा निष्क्रिय रहेको दावी गरेका छन् । उनले नेकपा एस छाडेको बताएका छन् । उनी भन्छन्, “यो पार्टीको राजनीतिक दिशा भएन, नेताहरूको हिम्मत पनि देखिएन,” आलेले भने, “त्यहीकारण म यो पार्टीमा विगत आठ महिनादेखि सक्रिय छैन। यस बीचमा म भारत भ्रमण गरेर फर्किएको छु ।” बिहीबार मात्र दिल्लीबाट काठमाडौं फर्किएका उनी अहिले आफू स्वतन्त्र भएको बताउँछन् ।
सम्बन्धित पाेस्टहरु