Agni Offset Press

पहिरोले सुदूरपश्चिमका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध

Aarati simant

अत्तरिया : लगातारको वर्षापछि खसेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा राजमार्ग अवरुद्ध भएका छन् । यी जिल्लामा ग्रामीण सडकहरु भने पूर्ण रुपले बन्द भएका छन् ।

दार्चुलाको मालिकार्जुन नगरपालिका–२ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका–६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे–मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका–१३ को बुढाबगरमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको सम्बन्धी जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । डडेल्धुराको रडुवामा पहिरो खसेको छ तर पहिरो ठूलो नभएका कारण एकतर्फी सडक सुचारु रहेको प्रहरीले जनाएको छ ।
आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर–जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ । यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढि परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । दार्चुलाको मार्मा गाउँपालिका–२ का १० परिवार पहिरोको जोखिममा परेका कारण उनीहरुलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।

अछामको चौरपाटी गाउँपालिका–६ का ९ परिवार र मंगलसेन नगरपालिका–८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निरन्तर वर्षा भइरहेका कारण पहिरोका साथै तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम भएकाले सचेत रहन स्थानीय प्रशासनले आग्रह समेत गरेको छ । बझाङमा सेती नदीको बाढीको जोखिममा परेका ६ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत थापाले थलारा गाउँपालिकाको झ्याँबगर भन्ने ठाउँमा गोठ बनाएर बसेका दुई र केदारस्युँ गाउँपालिकाको रायलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.