Agni Offset Press

नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परेर दुई यात्रु बस बगे

Aarati simant

चितवन : नारायणगढ मुग्लिन सडकको सिमलतालमा आज (शुक्रबार) बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको छ ।

सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । सो बसमा रहेका तीनजना यात्रु हाम फालेर बाहिर निस्केको र उनीहरूका अनुसार सो बसमा ३० जना यात्रु थिए ।

बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको रहेको भन्ने पनि उनीहरूले बताएको डीएसपी रिजालले जानकारी दिए । अर्को बस पनि पुरिएको भन्ने कुरा आए पनि केही कुरा नखुलेको उनको भनाइ छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ । बुटबलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.