Agni Offset Press

नारायणीमा भेटिएको शव बेपत्ता गणपति डिलक्सका यात्रुको भएको पुष्टि

Aarati simant

चितवन : चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ, प्रहरी नायब उपरीक्षक रिजालले भने । उनका अनुसार अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । साह नेपालमा बसेर काम गर्दै आएका ऋषिका दाई सत्यपाल साहले बताए । सत्यपालले आज बिहान फेला परेको शव भाई ऋषिपलको रहेको पुष्टि गरे ।
भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौंको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढेका थिए । काठमाडौंबाट रौतहटको गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । एन्जल वीरगञ्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ५५ यात्रु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए ।

बेपत्ता बस तथा यात्रीको आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.