काठमाण्डौँ : आइतबार आज नयाँ सरकार गठनको गृहकार्यमा जुटेका संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबन्डाको मोटामोटी सहमति भएको छ ।
आज राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नासाथ लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छन ्।
प्रधानमन्त्रीको शपथलगत्तै केही मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ । संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको दाबी पेस गरेका ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पाँच–पाँच वटा मन्त्रालय भागबन्डामा सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ ।
एमालेका ओलीनिकट एक नेताका अनुसार, सरकारमा सहभागी भएका दुई ठूला दलहरूका सांसद संख्याका आधारमा मन्त्री भागबन्डा गर्ने मोटामोटी तयारी छ । ‘९÷१० सांसद बराबर एक मन्त्री बनाउने भन्नेगरी छलफल भएको छ,’ ती नेताले भने, ‘यसो हुँदा, कांग्रेस गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय चलाउनेगरी अन्तिम सहमति हुन्छ होला ।’
अन्य साना दलहरूलाई भने ४ सांसद बराबर एक मन्त्री दिनेगरी ओलीले प्रस्ताव गर्नेछन् । अहिलेसम्म भएको सहमति अनुसार, एमालेले अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लिनेछ भने नेपाली कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिनेछ । भौतिक योजना र ऊर्जा लगायतका मन्त्रालय भने कसले लिने भन्ने टुंगो लागिसकेको छैन ।
नेपाली कांग्रेसबाट प्रकाशमामन सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने देउवाको तयारी छ । उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित क्याबिनेटमा पठाइनेछ । सिंहले भौतिक, पूर्वाधार तथा योजना मन्त्रालय मागेका थिए । तर उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना देखिएको कांग्रेसका एक नेताले बताए ।
गृह मन्त्रालयको जिम्मेवारी कांग्रेसको प्रमुख सचेतक समेत रहेका रमेश लेखकले पाउने लगभग निश्चित छ । त्यस्तै, देउवा पत्नी समेत रहेकी आरजु राणा देउवालाई परराष्ट्र मन्त्री बनाउने तयारी छ । एमालेबाट उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिएर उपाध्यक्ष विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।
त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयमा योगेश भट्टराईलाई पठाउने ओलीको तयारी भएको एमालेका नेताहरूले बताएका छन् । त्यस्तै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङको पनि मन्त्री बन्ने सम्भावना छ । अन्य नामबारे ओली र देउवा दुवैले पार्टीमा छलफल गर्दैछन् । कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्री चयन गर्ने निर्णय गरेको छ ।
शनिबार पार्टी बैठकमा सभापति देउवाले ओलीसँग भएको समझदारीबारे ब्रिफिङ गरेका थिए । पार्टीमा सहमति जुटाएर सकेसम्म आफ्नो दलबाट मन्त्री हुनेको नाम ओलीलाई पठाउने देउवाको तयारी रहेको स्रोतको भनाइ छ ।
सम्बन्धित पाेस्टहरु