
अत्तरिया, ३१ असार : कांग्रेस संसदीय दलका प्रमुख सचेतक कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखक गृहमन्त्री भएका छन् । एमाले अध्यक्ष केपीशर्मा ओली नेतृत्वको काँग्रेस एमाले गठबन्धन सरकारमा लेखक गृहमन्त्रीले सोमबार गृहमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन् ।
लेखक काँग्रेस केन्द्रीय सदस्य हुन् । यस अघि उनी पटक–पटक मन्त्री भई सकेका छन् । कानुनी क्षेत्रका ज्ञाता मानिने लेखक सरल स्वाभावका नेताका रुपमा परिचित छन् । २०२० मा बैतडीको दशरथ चन्द नगरपालिका जन्मिएका उनले कञ्चनपुरमा राजनीति अघि बढाएका हुन् ।
बैतडीमा प्रारम्भिक शिक्षा हासिल गरेका उनले कक्षा ५ देखि १० सम्म महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयमा पढेका हुन् । त्यसपछि सिद्धनाथ विज्ञान क्याम्पस पढेका उनले त्यहींबट राजनीति सुरु गरेका थिए । २०३७ मा आइएस्सी पढ्दै गर्दा नेता लेखकले नेविसंघको तर्फबाट स्ववियू सभापतिमा चुनाव लडे र पराजित भए । फेरि उच्च शिक्षा अध्ययनका लागि नेता लेखक भारतको लखनउ विश्वविद्यालय पुगे । उनले त्यहाबाट बिए, एमए र एलएलबी (कानून) को अध्ययन गरेका थिए ।
उच्च शिक्षा अध्ययनपछि महेन्द्रनगरमा कानुनी व्यवसाय, पत्रकारिता र शिक्षण पेशा समेत संगसंगै अघि बढाए । त्यस समयमा नेता लेखकले महाकाली सप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रहेर समेत काम गरे । त्यस्तै उनले महेन्द्रनगरमा रहेको तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा इतिहास, वाणिज्य र कानून संकायमा अध्यापन पनि गरे । २०४८ सालमा नेता लेखक कांग्रेस कञ्चनपुरको जिल्ला सचिव भए । २०४८ देखि २०५६ सम्म लेखक काँग्रेस कञ्चनपुरको दुई कार्यकाल सचिव रहेर काम गरे ।
लेखक २०५६ मा पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । त्यसपछि २०६४ को संविधान सभा निर्वाचन बाहेकका सबै चुनाव उनी लडेका छन् । उनी त्यस अघि २०५१ को मध्यावधि निर्वाचन लड्न चाहन्थे । टिकट नपाएपछि उनको चुनाव लड्ने धोको पूरा हुन पाएन ।
२०५६ मा चुनाव जितेपछि उनी कांग्रेस संसदीय दलको सचेतक भएका थिए । २०६२ को संसद पुनःस्थापनापछि नेता लेखक सुरुमा श्रमराज्य मन्त्री र त्यसपछि श्रम मन्त्री नै भए । उनले तत्कालिन माओवादीसंग वार्ता टोलीको सदस्य काम गरेका थिए । तत्कालिन माओवादी संग विस्तृत शान्ती सम्झौता गर्न पनि नेता लेखकले सदस्यको हैसियतबाट महत्वपूर्ण कार्य गरेका छन् । २०६४ को संविधान सभा सदस्य निर्वाचनमा उनी समानुपातिक चुनाव लडे । त्यसपछि उनले मौलिक हक अधिकार मस्यौदा समिति, मस्यौदा समिति भित्रका पनि विभिन्न समितिमा विवाद समाधान लगायतका उप समिति तथा कार्यदलमा बसेर काम गरे ।
पहिलो संविधान सभामा ४ वर्ष सम्म संविधान निर्माण तथा लेखनमा उनी संलग्न रहे । २०७० मा संविधान सभाको अर्को निर्वाचन भयो । तत्कालिन कञ्चनपुर निर्वाचन क्षेत्र नं. ४ प्रत्यक्ष तर्फ बाट नेता लेखक चुनावी प्रतिस्पर्धामा उभिए र चुनाव जिते पनि । २०७० मा पनि नेता लेखकले संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।
संविधान निर्माणको कामलाई अन्तिम रुप दिने एउटा कार्यदल थियो, त्यसमा पनि नेता लेखकको महत्वपूर्ण भूमिका थियो । जसमा नेता लेखकले न्यायपालिका सम्बन्धि उप समितिको संयोजक भएर काम गरे । अन्ततः नेपालको संविधान २०७२ जारी भयो ।
२०७० मा चुनाव जितेपछि नेता लेखक भौतिक पूर्वाधार तथा योजना मन्त्री भए । उनी २०७४ को निर्वाचनमा एमालेका नेता डा. दिपक प्रकाश भट्टसित पराजित भए । त्यसपछि २०७९ को निर्वाचनमा उनी एमालेका निरुदेबी पाललाई पराजित गरी साँसद निर्वाचित भए । बेदकोट नगरपालिका ८ का वासिन्दा लेखक सबैसित समान व्यवहार गर्ने, मिठो बोली र अरुको विरोध नगर्ने नेताका रुपमा चिनिन्छन् ।
