
अत्तरिया, १० साउन : कैलालीको गोदावरी नगरपालिका वडा न. १ मा गोदावरी सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरू भएको छ । गोदावरी नगरपालिकाको मनहरा अत्तरियामा ग्वासी समैजी शिव मन्दिर धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ बिहीबारबाट सुरू भएको हो ।
महायज्ञ सप्ताहको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाट्न गरेका हुन् । उद्घाटन पश्चात नगर प्रमुख भट्टले आफ्नो धर्मको संरक्षण गर्नु महत्वपूर्ण कुरा रहेको बताए । धार्मिक ज्ञान विज्ञान महायज्ञ सप्ताहले हिन्दू धर्मको धार्मिक परम्परालाई अगाडि बढाउने साथै मनलाई पवित्राका साथ लैजाने विश्वास रहेको उनले बताए ।
मन्दीरलाई आगामी दिनहरुमा आवश्यक पर्ने कुराहरूको लागी आफ्नो व्यक्तिगत साथै गोदावरी नगरपालिकाको तर्फबाट सहयोग गर्न तत्पर रहने उनले बताए । महायज्ञमा व्यक्तिगत तर्फबाट नगद १० हजार रकम सहयोग गर्ने साथै नगरको तर्फबाट सदैव सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यस्तै सप्ताहमा गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गोपालदत्त भट्टले सप्ताहले विभिन्न विकृतिलाई सुधार ल्याउनुका साथै धर्मप्रति आस्था जगाउने विश्वास रहेको बताए । समाजमा फैलदै गएको लागू औषध लगायत नकारात्मक क्रियाकलापहरुलाई फैलिनबाट रोक्न सञ्चालनमा ल्याइएको सप्ताह महायज्ञले धर्मप्रति आस्था जगाई केही हदसम्म सुधारमा ल्याउने भएको बताए ।
त्यस्तै मन्दिरको स्तरोन्नति, सनातन धर्म संस्कृति जोगाउनका लागि महायज्ञ सञ्चालन गरिएको ग्वासि समैजी शिव मन्दिर गोदावरी सप्ताह ज्ञान विज्ञान महायज्ञका संयोजक शंकरदत्त पन्तले बताए ।
उनले सनातन धर्म संस्कृति विकास गर्नको लागी महायज्ञमा हिन्दूधर्म सम्बन्धि ज्ञानका कुराहरू वाचन गरिने बताए । यस्तै मन्दिर निर्माण साथै मन्दिर परिसरको भौतिक विकास गर्न निम्ति साथै सम्पूर्ण सहयोगीहरुलाई भौतिक रूपमा पनि सप्ताह अवधि भरी उपस्थिति हुन आग्रह गरे । बिहीबार देखि सञ्चालनमा आएको महायज्ञ १६ गते सम्म संचालन हुने छ ।
एक हप्तासम्म संचालन हुने महायज्ञमा नेपाली भाषाका श्रृङ्गारिक प्रखर अच्युत शरण महाराजले कथा वाचन गर्ने छन् । सप्ताहमा बाल संस्कार अभियन्ता, यज्ञाचार्य, राष्ट्रिय भजन गायकबाट भजन हुने सँगै विभिन्न धार्मिक कुराहरूको वाचन हुने आयोजकले जनाएको छ ।
