स्कूल बस दुर्घटना : आमा-छोराको मृत्यु

पोखरा : पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमा-छोराकै मृत्यु भएको छ। दुर्घटनामा पोखरा-१७, विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो।

आरती छोरालाई पनि साथै लिएर अन्य विद्यार्थी हेरचाहका लागि बस चढेकी थिइन्। दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएकामा डाक्टरले आमालाई बिहान ९ :४१ बजे र यसको १ घण्टापछि छोरालाई पनि बिहान १० : ४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

विद्यार्थी बोकेको ग १ क ६२१९ नम्बरको बस पोखरा-२१, गुड्कु भन्ने भित्री सडकबाट बिहान पौने ९ बजेतिर ५० मिटर तल खस्दा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए। सो बसमा चालकसमेत ३० जना थिए। बाँकी सबै घाइते भएका छन्। उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.