डोटी : डोटीमा भरुवा बन्दुकसहित दुई जना सिकारी पक्राउ परेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ डाँडागाउँका ३३ वर्षीय रामबहादुर साउद र सोही ठाउँका ४२ वर्षीय दिल्ली साउद पक्राउ परेका हुन् । दुबै जनालाई भरुवा बन्दुकसहित गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णु हरि कोइरालाले जानकारी दिए ।
पूर्वीचौकी गाउँपालिका–६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर थापाको गोली लागेर शुक्रवार ज्यान गएको थियो । उक्त घटनामा संलग्न दुई जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको कोइरालाले बताए ।
जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले घटनास्थल नजिक भरुवा बन्दुक र दिपायल सिलगढी नगरपालिका–८ नारिदाङ स्थित धानको खेतमा लुकेर रहेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको हो ।