अत्तरिया : सुदूरपश्चिमका विभिन्न स्थानमा सर्पले डसेर तीन जना घाइते भएका छन् । दार्चुलाको नौगाड गाउँपालिका–२ की ६१ वर्षीया देउती ठगुन्ना घाइते भएकी छन् । उनलाई जङ्गलमा घाँस काट्ने क्रममा सर्पले डसेको थियो । ठगुन्नालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारको लागी धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
त्यस्तै गरी कैलालीको बर्दगोरिया गाउँपालिका–३ बटुकुवाका ३० वर्षीय सागर नेपाली पनि सर्पले डसेर घाइते भएका छन् । उनलाई पसलबाट घर आउने क्रममा सर्पले टोकेको हो । घाइते सागरलाइ बर्दगोरिया अस्पताल प्रालि बौनियामा सामान्य उपचारपछि थप उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको छ ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाडीका ३२ वर्षीय रमेश क्षेत्रीलाई पनि सर्पले डसेको छ । उनलाई घरमै बसिरहेको अवस्थामा सर्पले डसेको थियो। अहिले उनको उपचार सेती प्रादेशिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।