डोटी : डोटीको जोरायल गाउँपालिका २ मा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र छहरा झरनामा प्रवेश शुल्क लगाइने भएको छ । जोरायल गाउँपालिका वडा नं. २ को कार्यालयले सोमबार एक सूचना जारी गर्दै निर्धारित शुल्क सहितको जानकारी सार्वजनिक गरेको छ ।
वडा कार्यालयले वडा समितिको श्रावण २१ गतेको निर्णय सार्वजनिक गर्दै प्रसिद्ध छहरा झरनाको विकासका लागि राजश्व संकलन गरी सोही क्षेत्रमा खर्च गर्ने गरी आन्तरिक र बाह्य पर्यटकहरुबाट प्रवेश शुल्क र पार्किङ्ग शुल्क उठाइने जनाईएको छ । जस अनुसार आन्तरिक पर्यटकका लागि रु. २०, बाह्य पर्यटकका लागि रु. ५० र विद्यार्थीको हकमा रु. १० प्रति व्यक्ति प्रवेश शुल्क लगाईएको छ ।
यस्तै सवारी साधन प्रवेश तथा पार्किङ्ग शुल्कका रुपमा बाइकको लागि रु. २०, जिप, भ्यान, कारका लागि रु. ५० र बस तथा ठूला सवारी साधनको हकमा रु. १०० तोकिएको छ । उक्त राजश्व शुल्क संकलनका लागि वडा कार्यालयबाट जनशक्ति खटाइने जोरायल गाउँपालिका २ का वडा अध्यक्ष बिर बहादुर दर्लामीले बताए ।
वडा अध्यक्ष दर्लामीले भने–‘छहरा झरना हाम्रो सार्वजनिक साझा सम्पत्ती हो । अँझ त्यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय दृष्टिले झनै महत्वपूर्ण छ । जसको संरक्षण, संवद्र्धनका लागि सानो सानो सहयोग जुटाउन भए पनि हामीले वडा कार्यालयबाट राजश्व संकलन गर्ने र सोही क्षेत्रमा विकासमा लगानी गर्ने निर्णय गरेका छौं ।’
छहरा झरनाको छेवैमा घण्टेश्वर देवताको मन्दिर समेत रहेको छ । यो क्षेत्र देवता स्नान गर्ने, ब्रतवन्ध, विवाह जस्ता शुभ कार्य गर्ने धार्मिक पवित्र स्थल पनि हो । धार्मिक आस्थाका आधारमा डोटी, कैलालाी, कञ्चनपुर र भारतका तिर्थालु समेत यस क्षेत्रमा पुग्ने गरेका छन् । यस्ता धार्मिक कार्यका लागि शुल्क नलाग्ने पनि वडा अध्यक्ष दर्लामीले जानकारी दिएका छन् ।
पर्यटकको सुविधा, झरनाको सौन्दर्यता, धार्मिक महत्व जोगाइराख्नका लागि झरना क्षेत्रमा जथाभावी फोहोर गर्ने, धार्मिक रित विपरित कार्य गर्ने गतिविधि निरुत्साहित गर्न स्थानीय सरकारको तर्फबाट निगरानी बढाईएको उनले बताए । जोरायल गाउँपालिका र वडा नं. २ को कार्यालयले सो झरनाको विकासका लागि विशेष जोड दिएर लागेको उनले बताए । क्रमिक ढङ्गले सो क्षेत्रमा पूर्वाधार विकास भैरहेको र थप पूर्वाधार निर्माण गरिने उनले बताए ।
उक्त झरना क्षेत्रमा जानका लागि भीमदत्त राजमार्ग अन्तरगत डोटीको बुडरदेखि जोरायल जाने सडक हुँदै झरना पुग्दा करिब ७ किलोमिटर दुरी रहेको छ । झरनासम्मै सडक पहुँच रहेको छ भने सडक पिच गर्ने कार्य भैरहेको छ । त्यस्तै पैदल क्षेत्रमा स्लेट बिछ्याउने कार्य पनि भैरहेको छ । पहिले फोन तथा नेट सुविधा नभए पनि अहिले फोर जि सुविधा सहित टावर जडान भई सेवा सुचारु भैसकेको छ ।
त्यस्तै अस्लार प्रविधिको सिंढी निर्माण, सेल्फी पुल, शौचालय लगाएतका पूर्वाधार निर्माण गरिएका छन् ।
वडाले शुल्क निर्धारण गरेसँगै सामाजिक सञ्जालमा विभिन्न खालका विरोधपूर्ण टिप्पणी आएका छन् त भन्ने विषयमा वडा अध्यक्ष दर्लामीले वास्तविकता नबुझी फेसबुकमा विरोध गर्ने विकास विरोधीहरु हुन्छन् भन्दै प्रतिक्रिया दिए । राम्रो प्रयास गर्दा सहयोग, सुझाव, सल्लाह दिन उनले सबैलाई आग्रह पनि गरेका छन् ।
यतिञ्जेलसम्म झरनाको विकास, प्रचारप्रसार, प्रवद्र्धनमा सहयोग गर्ने सबैलाई वडा अध्यक्ष दर्लामीले धन्यवाद पनि दिएका छन् ।पर्यटकको आकर्षण बन्दै डोटीको छहरा झरना छहरा झरनाको परापूर्वकाल देखि नै विशेष महत्व बोकेका भए पनि पछिल्लो समयमा कोरोना हराउँदै गएपश्चात मानिसहरु आवतजावत बढेसँगै यसको अझ बढी प्रचारप्रसार भएको हो ।
उक्त समयमा दिनहुँ करिब एक हजारभन्दा बढी बाह्य पर्यटक मात्रै आउने गरेका थिए । एक दिन त करिब ८ हजार पर्यटक र एक हजार बढी सवारी साधन आएको स्थानीय बताउँछन् ।